काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक ज्ञानेन्द्रबहादुर शाहीले राजसंस्था,राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय समझदारीका लागि दबाब दिन मङ्सिर २३ गते प्रदर्शन गर्न लागिएको जानकारी गराएका हुन् ।

संवैधानिक राजसंस्था,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,प्रदेश संरचना खारेज,संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द,स्थानीय तह गैरदलीय,भ्रष्टाचारीलाई आजीवन काराबास र जेनजी आन्दोलनका हत्यारालाई पक्राउको माग गर्दै प्रदर्शन गर्ने शाहीले बताए ।
वर्तमान सरकारबाट जेनजी युवाहरूमाथि धोका भएको बताउँदै शाहीले देशले जित्नेगरी राजा, जेनजी र दलहरूबीच गोलमेच सम्मेलन गरी संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आएपनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ ।
उनले देशमा नयाँ नेतृत्वसँगै र संविधान पनि संशोधन हुनुपर्नेमा जोड दिए। राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभई सबै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरू सडकमा आउने उनको भनाइ छ ।











