Logo
Logo

अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो: बादल थापा


441
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शक्तिको नेतृत्वलाई कमजोर बनाएर प्रतिक्रियावादी एवं प्रतिगामी शक्तिहरू अघि बढ्ने प्रयासमा लागिपरेको आरोप लगाएका छन् । उनले यस्तो प्रयासलाई असफल तुल्याउन पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको बताए । 

The current image has no alternative text. The file name is: badal-thapa.jpg

शुक्रवार प्रेस चौतारी नेपालले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष थापाले आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई “सामान्य महाधिवेशन नभई प्रतिक्रान्तिविरुद्धको निर्णायक मोड” का रूपमा लिएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘लोकतन्त्रलाई जोगाउने राजनीतिक दलहरूको नेतृत्वलाई कमजोर बनाएर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने गलत सोचका साथ केही शक्ति सक्रिय भएका छन् । शीर्ष नेतृत्वलाई विस्थापित गरेर, ‘फुटाऊ र शासन गर’ को रणनीति अवलम्बन गरेर उनीहरू अघि बढिरहेका छन् ।’

उपाध्यक्ष थापाले एमालेलाई लक्षित गर्दै पुस्तान्तरणको नाममा आफू अनुकूल नेतृत्व ल्याउने र शीर्ष नेतालाई हटाउने खेल भइरहेको टिप्पणी गरे । यस्तो चलखेल विफल पार्न आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा उनको भनाइ छ । उनले भने, ‘प्रतिगामी शक्तिहरू हाम्रो नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्, हामीले आफ्नो नेतृत्वलाई जोगाउनुपर्छ । अहिले एकअर्कालाई विस्थापित गर्ने होइन, एकता र सुदृढीकरणको समय हो। आवश्यक परे विधान संशोधन गरेरै भए पनि सबैलाई समेटेर लैजानुपर्छ ।’ 

अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै थापाले ओली कम्युनिस्ट आन्दोलनको मूलधार स्थापित गर्ने, एमालेलाई जनमतको पहिलो पार्टी बनाउने र देशलाई विकासशील राष्ट्रको मान्यता दिलाउने नेपाली इतिहासकै सफल नेताका रूपमा उभिएका बताए । उनले भने,’प्रतिगामीहरूले जति फुटाए पनि पार्टी जनमतमा पहिलो बन्यो, नेपालले उहाँकै नेतृत्वमा विकासशील देशको दर्जा पायो । त्यसैले अहिले पनि केपी ओलीको नेतृत्व राष्ट्रिय आवश्यकता हो ।’ 

उनले अनावश्यक रूपमा उम्मेदवारी घोषणा गरेर पार्टीमा विभाजन र विसर्जन निम्त्याउने प्रयास नगर्न चेतावनी पनि दिए । ‘महाधिवेशनबाट सहमतिका आधारमा एकताबद्ध नेतृत्व चयन गर्नुपर्छ । वर्तमान अवस्थाले पार्टी र देश दुवैले मेरो भूमिकालाई आवश्यक ठानेको जस्तो लाग्छ। महाधिवेशनपछि बन्ने नेतृत्वमा मेरो पनि योगदान रहने अपेक्षा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्