Logo
Logo

गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण


567
Shares

काठमाडौं । पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई आवागमनमा रोक लगाएर सिँढी बनाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले पुल निर्माण सकिएपछि सिँढी बनाउन थालेको हो । 

The current image has no alternative text. The file name is: bridge.jpg

महानगरपालिका सम्पदा तथा पर्यटन समितिको संयोजकसमेत रहेका कामपा-८ का वडाध्यक्ष आशामान सङ्गतले निर्माणका क्रममा सवारी सञ्चालन हुँदा समस्या भएपछि सिँढी निर्माण गर्न लागिएको बताए । ‘यो अस्थायी संरचना हो । स्थायी सिँढी बनाएर सवारी साधन रोक्नुपरेमा सरोकार भएका सबैसँग छलफल गरी अघि बढ्ने छौँ,’ उनले भने ।

सिँढी निर्माण स्थलमा भेटिएका भक्तजन जयराम सापकोटाले यसले गर्दा अशक्त तथा ज्येष्ठ नागरिकलाई गुह्येश्वरी मन्दिर दर्शन गर्न अप्ठ्यारो हुने धारणा राखे । करिब एक वर्षअघि पुल जीर्ण भएर बनाउन सुरु गरिएकामा लामो समय आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै रोकिएको थियो ।

पुरातत्त्व विभागले दिएको निर्देशनअनुसार प्राचीन निर्माण सामग्री प्रयोग गरेर पुल बनाउन महानगरपालिका सहमत भएपछि गत असोजमा पुलको बाहिरी स्वरूप निर्माण सम्पन्न भएको हो । पुललाई स्थायी बनाउन अझै काम बाँकी भएकाले सिँढी बनाएर सवारी आवागमन रोकिएको वडा कार्यालयले जनाएको छ ।

विश्व सम्पदा क्षेत्रमा भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनःनिर्माण सुरु गरेपछि विभागले पुरानै स्वरूपमा बनाउनुपर्ने भन्दै रोकेको थियो । महानगर पुरानै स्वरूपमा पुल बनाउन सहमत भएपछि पुनः काम सुरु भएको हो ।

यसैबीच, पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँट्टाको संरक्षण नहुँदा चोरी भएको स्थानीयवासीले बताएका छन् । सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँट्टा भेटिए पनि पछि त्यहाँ नभेटिएका स्थानीय अर्जुन लामिछानेले जानकारी दिए । ऐतिहासिक एवं पुरातात्विक महत्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उनको माग छ ।

आगामी दिनमा धार्मिक तथा सांस्कृतिक आस्थाका क्षेत्र, विश्व सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । चोरी भएका पुरातात्विक सामग्रीको खोजी गरी राखिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्