Logo
Logo

रवि, कुलमान, बालेन र हर्कबीच सहकार्य होला ?


756
Shares

काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल र स्वतन्त्र समूहमा रहेका जेनजी अभियानकर्मीहरूलाई एक ठाउँमा ल्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने गृहकार्य तीव्र बनेको छ।

उक्त पहलमा संलग्न केही व्यक्तिहरूका अनुसार अलग–अलग ध्रुवमा रहेका नयाँ पुस्ताका नेतृत्व र अभियन्तालाई ‘एक मोर्चा’मा उभ्याउने प्रयास भइरहेको छ ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका जेनजी अगुवा सुधन गुरुङले यही विषयमा विस्तृत कुरा भएको बताए ।

उनका अनुसार लामिछाने नेतृत्वको रास्वपा, कुलमान घिसिङको अगुवाइमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टी र धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई सहकार्यमा ल्याउने प्रस्ताव जेनजी युवाले अघि सारेका हुन् ।

यसमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’, रास्वपाबाट बाहिरिएकी पूर्वमन्त्री सुमना श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरिसकेका सागर ढकाल र हालै ‘हाम्रो पार्टी नेपाल’ दर्ता गरेका खगेन्द्र सुनारलाई समेत समेट्ने प्रयास भइरहेको वार्तामा सहभागी स्रोतले जनाएका छन् ।

राजनीतिक रूपमा अपेक्षाकृत कम विवादित मानिएका यी व्यक्तित्व र शक्तिलाई एउटै प्लेटफर्ममा उभ्याएर नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्ने लक्ष्यसँगै वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभ्यास भइरहेको रास्वपा तथा उज्यालो नेपालका नेतृत्वले पुष्टि गरेका छन् ।

पहिलो निर्वाचनी सहभागिताबाटै उदाएको रास्वपा विघटित संसद्‌मा चौथो ठूलो दल बनेको थियो । त्यसबीच विवेकशील–साझासँग एकता गरिसकेको समेत छ।

यसैबीच कुलमान घिसिङले समर्थन गरेको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङको श्रम संस्कृति पार्टी पनि निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।

जेनजी अगुवा गुरुङका अनुसार परिवर्तन चाहने युवाले रुचाइका बालेन, लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङलाई एउटै समूहमा ल्याएर वैकल्पिक शक्ति बनाउने चाहना तीव्र छ।बालेन र घिसिङबीच हालै भएको भेटघाट तथा पहिलो चरणका छलफलहरू यही प्रयासकै संकेत भएको उनको भनाइ छ।

गुरुङ भन्छन्, “संविधान संशोधन नगरी जेनजी आन्दोलनका माग पूरा हुँदैन। अहिले सरकार संशोधन गर्न असमर्थ छ भनेर गृहमन्त्री स्वयंले भनेका छन्। त्यसैले चुनावमै दुई तिहाइ ल्याएर माग पूरा गर्ने शक्ति निर्माण अपरिहार्य छ।”

रास्वपाका पूर्व–सहमहमन्त्री सुमना श्रेष्ठका अनुसार सामूहिक नेतृत्वको प्रारूपमा अन्तिम सहमति बाँकी छ। गत बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले भनेकी थिइन्– ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु ।’

जेनजी अभियानकर्मीहरू साना समूहमा विभाजित जस्ता देखिए पनि सुधारको चाहना बोकेका अधिकांश समूह अन्ततः एउटै ठाउँमा आउने सम्भावना उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्