काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीज्यूको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल भएको छ ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो । राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो । चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा सहभागी थिए ।
गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताए ।
प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा आफ्नो भनाई राख्दै चुनावका विषयमा सकारात्मक प्रतिक्रिया आएको भन्दै चुनाव सम्पन्न गरेर मुलुकले एउटा बाटो पाओस्, जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस् भन्नेमा स्पष्ट रहेको बताएकी थिइन् ।
बैठकमा प्रधानमन्त्री कार्कीले राखेको धारणा:
आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ । समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् । यहाँहरूले उठाउनुभएका कुरालाई हामी अन्यथा मान्दैनौँ । लागेको कुरा भन्नुपर्छ । अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भन्ने बताइदिने यहाँहरूको धर्म हो । हामीले एउटा दृष्टिकोणबाट हेरेका हुन सक्छौँ, तपाईँहरूले आफ्नो दृष्टिकोणबाट थप भनिदिनुहुन्छ । यस सुधार गर्दै अगाडि बढ्ने मौका मिल्छ ।
भदौ २३ र २४ को घटना कसले कल्पना गरेको थियो र? देशको जीवनमा एउटा मोड आयो। संसारका सबै मुलुकको जीवनमा यस्ता अप्रत्यासित मोड र उतारचढाव आउँछन् । यस्तो समयमा हामीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउनुपर्छ । हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला । तर, यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो ।
अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ। हाम्रा विरुद्धमा अन्तरिम आदेश भएको भए हात बाँध्नुपर्थ्यो । तर, त्यो भएको छैन । हामी अगाडि बढ्नु नै पर्ने हुन्छ । युवा विद्रोहपछि के गर्ने त, अबको बाटो के त भन्ने सन्दर्भमा यो सरकार आएको हो । यो अन्तरिम कालको व्यवस्थापनका लागि आएको हो । यसले आफ्नो कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरै सक्रियताका साथ पूरा गर्दै छ । थकाइ पनि भनी काम गर्दै छौँ । जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गरेका छौँ । आशङ्काहरू निवारण गरेका छौँ । मन माझामाझ गरेका छौँ । मुलुकप्रति हामी सबैको दायित्व छ । मुलुकले एउटा बाटो पाओस् । जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस् ।
निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ। सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ । सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ । प्रहरीले निरन्तर कानुनी राज स्थापनाका लागि काम गरिरहेको छ । २३ गते निहत्था युवा मारिए । भोलिपल्ट आगजनी भयो । यो कसले किन गरेको, अध्ययनले बताउने नै छ । तर, यो आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ । यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ ।
काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो । ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ । ललितपुरका जनताले धेरै ठाउँमा विध्वंशको प्रतिकार गरेको देखियो । यसरी खराब तत्त्वलाई रोक्ने सामर्थ्य पनि समाजमा हुनुपर्छ । हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो। यसमा हामीले क्षमा याचना पनि गरौँ ।
चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ । सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन । १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन । खराब तत्त्वले आक्रमण गर्न सक्दैन । सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो । त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ । भूतपूर्व सुरक्षाकर्मी पनि छन् । अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन ।
हामीले जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ । दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला। तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ । म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन । जुन दल आए पनि हामी स्वागत गर्छौँ । खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ । हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ । देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन । तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिइदिनुहोस् । अहिले नयाँ आएकाहरूप्रति तपाईँहरूले शङ्का गर्नुभएको होला । तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन् । अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौँ । कुनै दललाई अहित हुने कार्य गरेर कारबाही गर्ने आचार संहिता हुन्छ। त्यसैले हामीलाई अब शङ्का नगर्नुहोस् ।
भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो । अब निर्वाचन गराएर बलियो सरकार बनाएर युवा शक्तिले खोजेको व्यवस्था ल्याउनुपर्छ ।











