काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै जनवर्गीय तथा मोर्चा सङ्गठनहरूलाई पार्टी एकताको आवश्यकता र औचित्यबारे व्यापक प्रचार-प्रसार गर्न निर्देशन दिएको छ ।

पार्टीले जारी गरेको पहिलो अन्तरपार्टी निर्देशन (अपानि) मार्फत जनवर्गीय र मोर्चा सङ्गठनहरूलाई एकताको महत्त्व, यसको औचित्य तथा एकीकरणका क्रममा भएका सहमति र समझदारीहरूलाई जनतामाझ पुर्याउन निर्देशन दिइएको हो । पार्टी निर्माणको सन्दर्भमा प्रचार–प्रसारको काम अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अपानिमा भनिएको छ-‘प्रचारात्मक कार्य मानव शरीरमा रक्तसञ्चारले गर्ने कामजस्तै हो ।’ ‘प्रचार-प्रसारको गम्भीरतालाई आत्मसात् गर्दै सबै तहका पार्टी कमिटी तथा जनवर्गीय सङ्गठनहरूले यसलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी ढङ्गले अघि बढाउनुपर्छ,’ अपानिमा उल्लेख छ ।
साथै, प्रचार तथा प्रकाशन क्षेत्रलाई थप व्यवस्थित गर्न विस्तृत कार्ययोजना चाँडै नै पठाइने जनाइएको छ । यसैगरी, पार्टीले प्रदेश, जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, पालिका, वडा र टोल तहसम्म पार्टी तथा जनवर्गीय सङ्गठनका कार्यालयहरू तत्काल स्थापना गरी नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
प्रचारात्मक कामका लागि दिइएका निर्देशन यस्ता छन् :
१. पार्टी एकताको ऐतिहासिक आवश्यकता, औचित्य, महत्व र एकीकरणका सन्दर्भमा भएका सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्ने ।
२. नेपाली कम्युनिस्ट पार्टीका नीति, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, घोषणापत्र र प्रतिबद्धताहरूको आम जनता र कार्यकर्ताबिच व्यापक प्रचार गर्ने ।
३. एकतामा सहभागी पार्टीका नेता, कार्यकताबीच एकआपसमा सौहार्दता, समझदारी र भावनात्मक एकता कायम गर्ने सामग्रीहरू प्रचार गर्ने ।
४. निर्वाचनमा मतदाताहरूलाई आकर्षित गर्ने नयाँ–नयाँ प्रचार सामग्रीहरू उत्पादन र ती सामग्रीहरूको व्यवस्थित प्रचारको काम गर्ने। प्रचार कार्यलाई आक्रामक बनाउने ।
५. विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, पर्चा, टिसर्ट, क्याप, स्टिकर, पोष्टरलगायत विभिन्न तरीकाबाट पार्टीको चुनाव चिन्ह पाँचकुने ‘तारा’ को व्यापक रूपमा प्रचार गर्ने ।
६. नवयुवा पुस्ता र आधारभूत वर्गका व्यक्तिहरूलाई पार्टीमा जोडिन प्रेरित गर्ने सामग्रीहरू प्रचार गर्ने ।
७. विभिन्न सञ्चार माध्यमहरू, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलगायत प्रचारका सबै माध्यमहरूलाई पार्टीको पक्षमा सदुपयोग गर्ने ।
८. पुराना, भद्दा प्रचारका तरिकाको सट्टा आजको वस्तुगत परिस्थितिअनुसार आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी प्रचारलाई सहज, छरितो र जनताको दिल छुने गरी प्रचार अभियान सञ्चालन गर्ने ।
९. ह्वाट्सएप, मेसेन्जर, भाइवर ग्रुपहरू बनाएर व्यवस्थितरूपमा चलाउने, पार्टी र चुनावी सामाग्रीहरू प्रचार गर्ने, त्यस्ता सामग्रीहरू शेयर र पोष्ट गर्ने कामलाई व्यापक बनाउने ।
१०. आ–आफ्नो क्षेत्रमा उपयुक्त हुने, सुहाउँदो प्रविधिमैत्री प्रचारका माध्यम र तरिकाहरू अपनाउने ।











