Logo
Logo

मधेशको सत्ता समीकरण प्रभाव अन्य प्रदेशमा पनि देखिन्छ : प्रचण्ड


630
Shares

जनकपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव क्रमशः अन्य प्रदेशहरूमा पनि देखिने दाबी गरेका छन् । 

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

शनिवार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मधेशले परम्परागत समीकरण तोडेर नेकपा, मधेशवादी दलहरू र नेपाली कांग्रेसको सहभागितामा नयाँ सरकार बनाएको छ । यो नयाँ समीकरणको सुरुवात मधेशबाटै भएको हो र अब यो सन्देश देशका बाँकी प्रदेशहरूमा पनि पुग्नेछ ।’ 

उनले गणतन्त्र आए पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएको स्वीकार गर्दै ‘जेनते (जनता) आन्दोलन’ ले सबै राजनीतिक शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको बताए । उनले भने, ‘यो आन्दोलनले हामीलाई गम्भीर समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणसहित अगाडि बढ्ने अवसर दिएको छ ।’

प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सबै जनताको व्यापक एकता आवश्यक रहेकोमा जोड दिँदै त्यसको नेतृत्व नेकपाले गर्ने विश्वास व्यक्त गरे । उनले एमाले तथा अन्य कम्युनिस्ट पार्टीहरूभित्रका क्रान्तिकारी र वामपन्थी शक्तिहरूलाई पनि नेकपामा एकताबद्ध हुन आह्वान गरे। त्यसैगरी मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजना (हुलाकी राजमार्ग, रेलवे, जलेश्वर-जनकपुर-जटही सडक विस्तार लगायत) कम्युनिस्ट नेतृत्वको सरकारले नै सुरु गरेको उल्लेख गर्दै तिनलाई पूरा गर्ने जिम्मेवारी पनि कम्युनिस्ट सरकारले नै लिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्