काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनपछि मुलुकमा एमालेको एकल सरकार बन्ने ठोकुवा गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित ‘नवयुग’ ई-बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी निर्वाचनको प्रतीक्षामा छौँ । निर्वाचन हुनेबित्तिकै नेकपा एमाले सत्तामा आउँछ । अब बन्ने सरकार एमालेको सरकार हो ।’
उनले पुराना दलहरूको विकल्प खोज्ने चर्चा भइरहेको सन्दर्भमा पनि एमालेको पुनरागमन भने निश्चित रहेको जिकिर गरे । ‘अरू कोही आउँछन् कि आउँदैनन् मलाई थाहा छैन, तर एमाले चाहिँ पक्का आउँछ,’ ओलीले भने । कार्यक्रममा ओलीले निर्वाचनको मिति जतिसुकै ढिला भए पनि एमाले सशक्त रूपमा सत्तामा फर्किने विश्वास व्यक्त गरे ।











