काठमाडौं । नेपालमा कमै मात्रै बन्छन्, सस्पेन्स थ्रिलर ड्रामा । मेकिङमा पर्याप्त ध्यान पुर्याउनुपर्ने र ड्यासिङ पफर्मेन्स तथा सोही अनुसारको सस्पेन्स स्टोरी चाहिने भएकाले नेपालमा कमै बन्छन्, सस्पेन्स थ्रिलर ड्रामा । स्क्रिप्टको अभाव रहने नेपाली सिनेमा उद्योगमा सस्पेन्स थ्रिलरका लागि झनै स्टोरी भेटिदैन ।

अहिले हलमा लागेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यस्तै सस्पेन्स थ्रिलर ड्रामा हो । जसले सस्पेन्समा दर्शकलाई राख्छ र नेपाली समाजको कथा भन्छ ।
अधिकांश समय सस्पेन्स क्रिएट गर्दै ‘अभिमन्यु : च्याप्टर–१’ मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा भन्छ । दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ, यसलाई देखाउँछ ।
सस्पेन्स क्रिएट गर्दै समाजको यथार्थ कथा भन्न फिल्म मेकरलाई पनि सहज छैन । तर, दर्शकलाई मजाले होल्ड गरेको स्वयं ‘अभिमन्यु’ हेर्ने दर्शकले बताइरहेका छन् ।
जति धेरै जनराका सिनेमा बन्छन्, चलचित्र उद्योगका लागि त्यति नै राम्रो हो । त्यसैले जनरा सिनेमालाई पनि सबैले प्रोत्साहन गर्नुपर्छ । होइन भने सिनमा एक/दुई जनरामै केन्द्रित हुन्छन् ।
‘अभिमन्यु’ हेर्ने दर्शकले यसको सिक्वेलको माग गरेका छन् । त्यसो त मेकरले सुरुमै च्याप्टर–१ भनेकाले यसको सिक्वेल त पक्कै आउँछ नै होला । दर्शकको मागले मेकरलाई सिक्वेल बनाउन उत्साहित बनाएको छ ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।











