काठमाडौँ । महायान बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को आज लोकार्पण गरियो ।

बौद्ध देवदेवीहरुको उत्पत्ति, आह्वान मन्त्र, बीजाक्षर, पूजा विधि, प्रतिमा लक्षण, योग समाधि जस्ता पक्षहरु विस्तृत रुपमा समेटिएको यो पुस्तक पं दिव्यबज्र बज्राचार्यले नेपाल भाषामा अनुवाद गरेका हुन् । अनुवाद सम्पन्न भएको ३४ वर्ष पछि यो पुस्तकको बौद्ध विदुषी सुमति बज्राचार्यबाट सम्पादन र दिव्य केसरी परिवारबाट प्रकाशनमा आएको हो ।
साधनमालामा विभिन्न ज्ञात अज्ञात लेखकहरुको ३१२ वटा साधनासम्बन्धी लेखहरु संगृहीत छन् भने आज प्रकाशित पहिलो भागमा १७० वटा साधना समेटिएका छन् । पुस्तक ४६७ पृष्ठको छ ।
उक्त पुस्तकको डा. बज्रराज शाक्य, यज्ञमानपति बज्राचार्य, डा हृदयरत्न बज्राचार्य, डा। सुरेन्द्रमान बज्राचार्य र डा। गौतमवीर बज्राचार्यले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै डा. बज्रराज शाक्यले नेवाः समुदायमा प्रचलित नव ग्रन्थ बौद्ध धर्म र दर्शनको सैद्धान्तिक पक्षमा केन्द्रित रहेको र त्यसका साधना तथा अभ्यास ‘साधनमाला’ र ‘क्रिया समुच्चय’ मा समाविष्ट रहेको बताए । उनका अनुसार काय, वाक् र चित्तको शुद्धीकरणका लागि बौद्धहरुले अवलम्बन गर्ने धार्मिक विधिविधानको आधारशिला साधनमाला हुन् ।
अर्का विद्वान यज्ञमानपति बज्राचार्यले बौद्ध साधकहरुका लागि यो पुस्तक गुरुग्रन्थ नै भएको विचार व्यक्त गरे ।
पुस्तकका सम्पादक सुमति बज्राचार्यले आफ्ना पिता दिव्यबज्रद्वारा अनूदित यो पुस्तकले बोधिचित्तको प्रार्थनाका साथसाथै विश्वको समस्त चलअचल धर्म स्वभावैले शून्य र परिशुद्ध छन् भनी साधकले दृढनिश्चय गर्नुपर्ने भन्ने तथ्यलाई हरेक बौद्ध साधनामा स्पष्ट पारिएको बताए ।











