काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनाको छानबिनलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको बताएकी छन्।

आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन तत्काल गरिरहेको जानकारी गराइन् । भेटमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेको निर्वाचनलाई समेत बराबरी प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले घटनाका दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन सकिने विश्वास व्यक्त गरेकी छन् । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले भण्डारीको निजी निवासमा आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दुःख व्यक्त गरिन् ।
भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण निर्माणमा सहयोग गर्न पूर्वराष्ट्रपतिसमक्ष आग्रह गरेकी थिइन् । भण्डारीले भने अहिलेको परिस्थितिमा लोकतान्त्रिक निकासका रूपमा निर्वाचन बाहेक विकल्प नरहेको र सबै पक्षले निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरिन् ।











