काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले निर्माण गरेको सरकार कुनै पनि हालतमा जेनजीको भावना विपरीत नजाने स्पष्ट बताएका छन् ।

आइतबार गृह मन्त्रालयमा जेनजी अगुवाहरू, गृह मन्त्रालय, नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबीच भएको छलफलमा उनले आन्दोलनकर्मीको मानवअधिकारलाई सरकारले उच्च संवेदनशीलताका साथ हेर्ने प्रतिबद्धता जनाए।उनका अनुसार २३ र २४ भदौका घटनालाई सरकारले एकतर्फी दृष्टिकोणबाट नहेरेको भन्दै, पक्राउ परेकामध्ये को निर्दोष छ भन्ने विषयमा सत्यतथ्यसहित निष्कर्षमा पुगिने बताएका छन्।
जेनजी प्रतिनिधिहरूले आन्दोलनमा सहभागितालाई अपराध ठहर गरेर देशभर युवाहरूलाई पक्राउ गरिएको गुनासो राखेका थिए। कतिपय युवाहरू मुद्दा खेप्दै जेलसमेत पुगेको उल्लेख गर्दै, उनीहरूले प्रहरी प्रशासनले आन्दोलनकर्मीलाई अपराधीकरण गर्न लागिएको आरोप लगाएका थिए।
छलफलमा १० जना जेनजी प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दंगाल, प्रहरी प्रमुख दानबहादुर कार्कीसहितका अधिकारीहरू उपस्थित थिए।











