Logo
Logo

नेपालको राजनीतिमा ‘नेपाली कम्युनिष्ट पार्टी’ चम्किलो तारा हो : माधव नेपाल


378
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा भएको बताएका छन् । बिहीबार बाँकेको नेपालगञ्जमा आयोजित जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

The current image has no alternative text. The file name is: madhab-nepal.jpg

सम्बोधनका क्रममा नेपालले पार्टीको नामकरण र एकताबारे प्रष्ट पार्दै भने, ‘हिजोसम्म हामी भन्दै थियौँ-नेकपा एमाले, कहिले माओवादी, कहिले समाजवादी। अब हामीले यसको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखेका छौँ। यो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको छ।’

पछिल्लो समय पुराना दल र नेताहरू काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेता नेपालले त्यसको प्रतिवाद गरे । उनले भने, ‘केही मान्छेले प्रचार गरिरहेका छन् कि पुरानो पार्टी काम लाग्दैन, पुराना नेता काम लाग्दैनन् । तर, सुन पनि आगोमा खारिनुपर्छ, नेता पनि सङ्घर्षको भट्टीमा खारिनुपर्छ ।’ 

त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने उनको जिकिर थियो । नेता नेपालले जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजवाद भएको बताए ।

उनले भने, ‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो। जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ ।’ उनले २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको स्मरण गराए ।

नेता नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘अब नयाँ नेपालको सपना बोकेर अगाडि बढ्नुपर्छ । फागुन २१ गते हुने चुनावमा हामी सहभागी हुन्छौँ र सफलता प्राप्त गर्नेछौँ,’ उनले उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्