
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण ढंगले निर्वाचन हुनसक्ने माहोल अझै बनिनसकेको बताएका छन् ।
सोमबार झापा पुगेका उनले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचनका लागि सरकारले अझै शान्ति सुरक्षाको प्रबन्ध गर्न नसकेको बताएका हुन् ।
विभिन्न प्रकारका अपराधिक घटनाहरु अझै समाजमा भइरहेकाले सुरक्षा प्रबन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ ।
‘निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ,’ उनले भने, ‘सुरक्षा प्रबन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् ।’
उनले नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताए । ‘जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन,’ उनले भने ।











