काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दमकस्थित जलेको घरको निरीक्षण गरेका छन् । ओलीले आफ्ना घरका सामान सबै जलेको विषयमा आफ्ना नेता कार्यकर्ताहरूसँग छलफल गरेका थिए ।

सो क्रममा पत्रकारले ‘तपाईँ आफ्नो घर हेरेर भावुक हुनु भयो नि’ भनी सोधिएको प्रश्नमा भने, ‘म भावुक भएको छैन, यी अपराधीहरूबाट देश कसरी जोगाउने भन्ने कुरा, यिनलाई कारबाही कसरी गर्ने भन्ने कुरा त्यो सोची राखेको छु ।’
ओलीले अहिले घर जलाउन उक्साउनेहरू, घर जलाउनको लागि डेरा जमाएर अभियान चलाउन खोज्नेहरूलाई कसरी कारबाही गर्न सकिएला भन्ने विषय अहिले चिन्ताको विषय भएको बताए ।
ओलीले भने, ‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक दलका कार्यकर्ताका घरहरू जलाउने सबै आपराधिक कर्म हुन् । अपराधलाई प्रोत्साहित गर्न सकिँदैन, अपराधलाई रोकेर यो देशलाई शान्तिपूर्ण र बस्न लायकको देश बनाउनु पर्छ ।’ अरूको घर जलाउन नपाउने र त्यस्ता व्यक्तिलाई कारबाही गर्नै पर्ने बताए ।











