Logo
Logo

रास्वपाको ‘घण्टी’ मा जेनजीको पीडाः प्रयोग भए युवा, पाखा लागे सपना


378
Shares

काठमाडौं । यसपटक २१ फागुनमा हुने निर्वाचनमा नयाँ पुस्ता अर्थात् ‘जेनजी’ युवाहरूमा एउटा फरक खालको उत्साह थियो । उनीहरू सडकमा मात्र होइन, अब सदनमै पुगेर नीति निर्माण तहमा हस्तक्षेप गर्न चाहन्थे ।

यही सपना बोकेर सोमबार बिहान ११ बजेदेखि नै धेरै युवाहरू वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय ‘घण्टीघर’ मा भेला भएका थिए । उनीहरूमा दृढ विश्वास थियो, रास्वपाले उनीहरूको ऊर्जालाई कदर गर्दै चुनावी मैदानमा उतार्नेछ । प्रत्यक्ष चुनाव लड्ने हुटहुटी यतिसम्म थियो कि उमेर पुगेका धेरै जेनजीहरूले पार्टीको केन्द्रीय सदस्य अस्वीकार गर्दै चुनाव लड्ने निर्णय गरेका थिए ।

रास्वपाले पनि सबै जेनजीलाई समेट्ने हिसाबले कसैलाई केन्द्रीय सदस्य, कसैलाई समानुपातिक र कसैलाई प्रत्यक्ष उम्मेदवारीको लागि टिकट दिने बताएको थियो । तर घण्टीघरको त्यो पर्खाइ अन्त्यमा धेरैका लागि खल्लो सावित भयो ।

रास्वपाले युवाहरूलाई समेट्ने आश्वासन त दियो । तर टिकट वितरणको अन्तिम सूची सार्वजनिक हुँदा अधिकांश जेनजी युवाहरू रित्तो हात फर्कनुपर्यो । काउन्सिल अफ जेनजीका लुम्बिनी सह–संयोजक गगन ओली दुई दिनसम्म आफ्नो नाम आउने आशमा घण्टीघरमै बसिरहे । दाङ क्षेत्र नम्बर–१ बाट चुनाव लड्न खोजेका उनी अन्ततः देवराज पाठकले टिकट पाएपछि खिन्न हुँदै फर्किए ।

त्यस्तै अवस्था बागमती प्रदेशका सह–संयोजक अमृत अधिकारीको पनि रह्यो । ललितपुर–२ बाट प्रत्यक्ष चुनाव लड्न उनले पार्टीको प्रक्रिया अनुसार फाराम भरेका थिए । तर उनको स्थानमा पूर्वसञ्चारकर्मी जगदीश खरेलले टिकट पाए । आफ्नै अध्ययन र कार्यक्षेत्र ललितपुर भएकाले त्यहीँबाट प्रतिनिधित्व गर्न खोजेका अमृतले अन्ततः नेतृत्वको निर्णय स्वीकार्नुको विकल्प देखेनन् ।

नुवाकोट–२ बाट दाबेदारी प्रस्तुत गरेका मनिष ज्ञवालीको अवस्था पनि उस्तै रह्यो । उनीहरू भन्छन्– ‘पहिले लागेकाे थियाे, जेनजी आन्दोलनपछि पार्टीले हाम्राे मुद्दा र अनुहारलाई प्राथमिकता दिनेछ, तर व्यवहारमा त्यस्तो देखिएन ।’

कतिपय युवाहरूले त यसलाई ‘ललिपप’ को संज्ञा दिएका छन् । सुर्खेतबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका कर्णाली प्रदेश संयोजक प्रकाश खड्का टिकट नपाएपछि आक्रोशित छन् । उनी भन्छन्, ‘रास्वपाले प्रक्रिया र मापदण्डको नाममा नाटक मात्र ग¥यो । बच्चालाई ललिपप दिएर भुलाएजस्तै जेनजीहरूलाई पनि आश्वासनमा अल्झायो ।’

उनीहरू सुदन गुरुङ टिमका हुन् । तर, सुदनले नै पार्टीसँग छुट्टै सम्झौता नगरेका कारण कारण उनीहरू ‘बालेनको टिम’ भित्रै हराएको र अन्ततः रास्वपाले उनीहरूको अस्तित्वलाई दबाएको गुनासो उनीहरूकाे छ ।

यस निराशाका बिच दुई जना जेनजी अभियन्ताहरू भने अवसर पाउन सफल भएका छन् । अधिवक्ता समेत रहेका मनिष खनाललाई रास्वपाले नवलपुर–२ बाट उम्मेदवार बनाएको छ । उनले जेनजी आन्दोलनलाई कानुनी रूप दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै, सुरुमा समानुपातिक सूचीबाट नाम हटाइएपछि असन्तुष्ट बनेकी टासी ल्हाजोमले अन्ततः हुम्लाबाट प्रत्यक्ष उम्मेदवार बनेकी छिन् । समग्रमा हेर्दा, ठुलो संख्यामा राजनीतिमा होमिएका जेनजीहरूका लागि यसपालिको रास्वपाको टिकट वितरण ‘आकाशको फल’ जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्