
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
गृह जिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन र राजनीतिक कार्यकर्ताका घर तथा कार्यालय जलाउने कार्य पूर्ण रूपमा आपराधिक गतिविधि भएको ठहर गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गरिनुपर्ने बताएका हुन् ।
‘अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न सकिँदैन, अपराध रोकेर मात्रै देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउन सकिन्छ,’ उनले भने । अरूको घर जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप समेत लगाए ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका ओलीले बुधबार बिहानैदेखि आन्दोलनबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।











