काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सकेसम्म बढी समय आफ्नो निर्वाचन क्षेत्रमै बिताउने प्रतिबद्धता जनाएका छन् ।

सर्लाही पुगेका उनले मतदातासँगको भेटमा अन्य नेताहरूझैँ हतारमा आएर हात हल्लाउने, फोटो खिच्ने र फर्किने शैली नअपनाउने बताएका हुन् । उनले भने, ‘म यहाँबाट मात्र होइन, अन्य निर्वाचन क्षेत्रहरू पनि जान्छु किनकि पार्टीको जिम्मेवारी छ । त्यसपछि फेरि यहाँ फर्किन्छु र सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ नै बस्छु । जति सकिन्छ, त्यति गाउँ-गाउँ पुग्छु । तर, चुनावको बेला हतार-हतारमा आएर सबै समस्या ढाकछोप गर्ने, फोटो खिच्ने, हात हल्लाउने र त्यसपछि ‘छुमन्तर’ हुने काम म गर्दिनँ ।’
उनले पार्टीका केही नेताहरूले ‘दुई लाइन भए पनि स्थानीय भाषामा बोल्न सिक्नुस्’ भने पनि आफूले नमानेको बताए । उनले भने, ‘म दुई लाइन यहाँको भाषा रटेर, रातभरि घोकेर आएर बोल्ने गर्दिनँ । म यहाँको भएपछि ६ महिना, ८ महिना वा जति समय लागे पनि यहाँका प्रत्येक व्यक्तिलाई नामले चिन्ने बनाउँछु । ९–१० महिनापछि एक लाइन होइन, माइक समातेरै यहाँको भाषामा भाषण दिन सक्ने हुन्छु ।’
उनले यो कुनै नौटङ्की वा चटक नभएर जिम्मेवारीपूर्वक मतदाताको साथी, भाइ र छोराको भूमिका निर्वाह गर्ने प्रयास भएको थापाले बताएका छन् । ‘म नौटङ्की गर्दिनँ, चटकेजस्तो पनि कुरा गर्दिनँ । जिम्मेवार भएर तपाईँहरूको साथी, भाइ, छोराको जिम्मेवारी पूरा गर्न चाहन्छु,’ उनले भने ।
थापाले फागुन २१ सम्म वडागत रूपमा छलफल गर्ने, कार्ययोजना बनाउने र त्यसअनुसार सबै लाग्ने बताए । ‘तपाईँहरू सबैको साथ-सहयोग रहन्छ भने हामी वडागत छलफल गर्छौँ, कार्ययोजना बनाउँछौँ र त्यसमा सबै जना मेहनत गर्नुहुन्छ,’ उनले भने ।











