Logo
Logo

विकास निर्माणका काम गर्दा धार्मिक र सांस्कृतिक सम्पदालाई असर नपुर्‍याउन प्रधानमन्त्रीको निर्देशन 


315
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विकास निर्माणका काम गर्दा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुग्ने गरी अघि बढाउन निर्देशन दिएकी छन् ।

मुलुकको प्राथमिकताप्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षणका क्रममा मंगलबार ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीयवासीका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न सम्बन्धित निकायलाई निर्देशन दिइएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आवश्यक परे आयोजना रेखाङ्कन तथा जिरो बिन्दु समेत परिवर्तन गर्न सकिने बताउँदै स्थानीयको धार्मिक,सांस्कृतिक विश्वासमा आघात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्नेमा जोड दिइन् ।

‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। उहाँहरूको विश्वासमा आघात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ,’प्रधानमन्त्री कार्कीले भनिन् । उनले भौतिक संरचना निर्माण गर्दा पर्याप्त खुला तथा खाली स्थानको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै प्राकृतिक विपद्का बेला,आवतजावत,मेला,पर्व तथा सामाजिक भेला–जमघटका लागि खुला स्थान अनिवार्य हुने बताइन् । ‘खाली ठाउँ देख्नेबित्तिकै संरचना निर्माण गर्नुपर्छ भन्ने सोच त्याग्नुपर्छ,’उनले भनिन् ।

निरीक्षणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति,चुनौती तथा आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्