काठमाडौं । फागुन २१ आउन अब धेरै दिन बाँकी छैन । दलका उम्मेदवारहरु अहिले चुनावी घरदैलोमा व्यस्त छन् । अरुबेला जनताको आँगन नटेक्ने नेताहरु यतिबेला जनताको दुःख बुझ्न जनताको आँगन हिलै भएपनि सफा जुत्ताले टेकिरहेका छन् । यतिमात्र कहाँ हो र ! कोही उम्मेदवार कृषकको उँखु काट्ने कोही भुइँमै लम्पसार परेर जनताको खुट्टा ढोग्नेसम्मका दृश्यहरु सामाजिक सञ्जालमा भाइरल छन् । त्यसो त हामी सबैले उम्मेदवारका घरदैलो कार्यक्रम त नियालिरहेका छौँ । सबैको आआफ्नो तरिका छन् । तर यो उम्मेदवारको घरदैलो कार्यक्रम अन्य उम्मेदवारको भन्दा बडो रोचक र फरक छ ।

हुन त श्रीमान् श्रीमती सँगै हिँड्नु, एउटै थालमा खानु नराम्रो होइन तर राजनीतिमा नातावाद, कृपावादको आरोप लागिरहँदा प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगाबाट नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले आफ्ना श्रीमान्लाई स्वकिय सचिव बनाएर चुनावी कार्यक्रममा हिँडाइरहेकी छिन् ।
करिब डेढ महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएकी थापा आफू चुनावी प्रचारका लागि जहाँ जहाँ जान्छिन् त्यहाँ श्रीमान ईश्वर कार्कीलाई पनि साथै लाने गरेकी छिन् । अस्मिताले श्रीमानलाई ‘श्रीमान्’ भन्दा पनि स्वकिय सचिव भनेर सबैसँग चिनापर्ची गराउने गरेकी छिन् । श्रीमान कार्कीले चुनावी प्रचारको क्रममा हिँड्दा श्रीमतीको झोला, डायरी र कलम बोकिदिने, श्रीमतीले जनतासँग गफिदा गरेका मुख्य कुराहरु डायरी टिपिदिने गर्छन् । कार्की ऋषिधमलाको रिपोर्टस नेपालमा लामो समयसम्म कार्यरत रहेका पत्रकारसमेत हुन् ।
अस्मिता लिखु गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा होकिएकी हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आँखामा परेकी उनले ईश्वर पोखरेल, नानीबाबु बूढाथोकीलाई ‘साइड’ लगाएर सांसदको टिकट पाएकी थिइन् । त्यसो त ओली ‘बा’ ले अस्मितालाई जेनजीको पनि प्रतिनिधि भनेर टिकट दिँदा एमाले ओखलढुंगा भुँइचालो नै गएको छ । कोशी प्रदेशका राज्यमन्त्रीसमेत भइसकेका अम्बिरबाबु गुरुङले आफूसहित जम्बो टोली नै लिएर नेकपामा बिलय गरिसकेका छन् । जबकि अस्मिताको ठाउँमा गुरुङ आकांक्षी थिए ।
तर, ओलीले अस्मितालाई टिकट थमाएपछि अस्मितालाई हराउन गुरुङ नेकपामा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनिसकेका छन् । अहिले गुरुङ दिनदिनै एमालेका मान्छे बोलाउँदै नेकपामा प्रवेश गराउने गरिरहेका छन् । तर, गुरुङमात्र होइन श्रीमान्–श्रीमतीको जोडीलाई हराउन कुनै दलले नसक्ने ओखलढुंगेली नेताहरुको भनाइ छ ।











