एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा उत्रिएका छन् ।

अमेरिकाकै सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलनका रूपमा यसलाई हेरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो हडतालले राज्यका विभिन्न अस्पतालहरूमा प्रभाव पारेको छ ।
क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका झन्डै ३१ हजार कर्मचारी आन्दोलनमा सहभागी छन् । हडतालमा दर्ता प्राप्त नर्स, एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, पोषण विज्ञसहित विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी सहभागी भएका छन् ।
उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित प्रमुख अस्पतालहरूमा प्रदर्शन जारी छ । ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ । युनियनले आवश्यक परे उत्तरी तथा दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गर्ने चेतावनी दिएको छ ।
लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता निष्कर्षमा नपुगेपछि हडताल सुरु भएको हो । यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए । काइजर पर्मानेन्टेसँगको श्रमिक सम्झौता मार्च ३० मा समाप्त भएको थियो भने नयाँ सम्झौताका लागि सात महिनाभन्दा बढी समयदेखि वार्ता जारी छ ।
युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा तथा बढ्दो कामको थकानजस्ता विषयमा सहमति जुट्न नसक्दा हडतालको निर्णय गरिएको हो । युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१.५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ। संस्थाले उक्त प्रस्तावलाई अहिलेसम्मकै सबैभन्दा बलियो प्रस्ताव भएको दाबी गरेको छ ।











