Logo
Logo

प्रधानमन्त्रीका उम्मेदवार गगन थापा नयाँ युगको प्रतिनिधि: विश्वप्रकाश शर्मा


252
Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू फरक-फरक समय र सन्दर्भका रहेको उल्लेख गर्दै कांग्रेसको उम्मेदवार भने नयाँ सोचको प्रतिनिधि भएको जिकिर गरे ।

‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ,’ शर्माले भने, ‘कोही भदौ २३, कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो ।’

उनले सबै विषयमा आत्मालोचना गर्दै कांग्रेस अघि बढेको बताए। आफूलाई परिवर्तन गरेर पार्टी परिवर्तनको दिशामा अघि बढेको उनको भनाइ छ। शर्माले सद्भाव, सुशासन र समुन्नति अहिलेको मुख्य मुद्दा भएको बताए ।

‘सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढङ्गले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टीभित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो,’ शर्माले भने ।

उनका अनुसार अहिले नेपाली समाजलाई सबैभन्दा बढी सद्भावको आवश्यकता छ । निर्वाचनमा हार र जित सामान्य प्रक्रिया भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्