काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति र सुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

बिहीबार निर्वाचन आयोगमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग छलफलमा उनले सरकार भयरहित निर्वाचन वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचन कर्मचारी र सुरक्षाकर्मीसमेतको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल गर्दै सुरक्षा योजना बनाएर काम गरिरहेको बताए ।
उक्त छलफलमा गृहमन्त्रीले आपराधिक तथा निर्वाचनविरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति लागू गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएका छन् ।











