बुटवल । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेको दाबी गरेका छन् । चुनावमा शान्ति सुरक्षाबारे आशंका व्यक्त गर्दै नेता ज्ञवालीले फरार कैदीबन्दी र लुटिएका हतियार दुरुपयोग हुन सक्ने बताए ।

बुटवलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भने, ‘जेनजी आन्दोलनमा कारागारबाट फरार धेरै कैदी बाहिर छन्, लुटिएका हतियार फेला परेका छैनन्, ति कैदीबन्दी र हतियार सरकारले नियन्त्रणमा लिनुपर्छ भन्ने हो, अर्कोतर्फ हिमाली क्षेत्रमा मौसमको प्रतिकूलता पनि छ ।’
फागुन २१ गते हुने चुनाव सार्न नहुने बताउँदै ज्ञवालीले २०८४ को चुनाव २०८२ मा भए पनि यो निर्वाचनले पनि रिजल्ट नदिने बताए ।
पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले संसद् पुनःस्थापनाको मुद्दामा सर्वोच्चले चाँडै फैसला गर्नुपर्ने बताए । ‘संवैधानिक र कानूनी हिसाबले संसद् विघटन गलत छ,’ ज्ञवालीले भने, ‘बहुमत सांसदले संसद् पुनःस्थापना भनेको अवस्था छ । यो मुद्दामा छिटो फैसला हुन आवश्यक छ । यस्तो संवैधानिक मुद्दामा निर्क्यौल गर्न ढिलाई गर्न हुँदैन ।’
समाजमा ‘नायक’ भाष्य सृजना गरिएको बताउँदै उनले त्यसले मुलुकलाई निकास नदिने दाबी गरे । ‘अहिलेको चुनाव ‘अल्गोरिदम’ खेल भइरहेको छ,’ सामाजिक सञ्जालमा हावा प्रचार भइरहेका छन् । समाजको वस्तुस्थिति फरक छ । पपुलिजमको वेभले देशलाई निकास दिँदैन । प्रयोगशाला मात्र बनाउने हो ।’
गत भदौमा भएको जेनजी आन्दोलन कुनै क्रान्ति नभएको उनको भनाइ छ । सुशासन र देशलाई स्थिरता दिन नवयुवाका मुद्दालाई आत्मसाथ गरी एमाले चुनावमा होमिएको बताउँदै उनले आफ्नो पार्टीले गुल्मीका दुवै क्षेत्रमा जित निकाल्ने दाबी गरे ।
अहिलेको चुनाव देश जलाउनेहरू र देश बनाउनेहरूबीचको प्रतिस्पर्धा रहेको भन्दै उनले अबको देशको निकासको लागि एमालेको जित आवश्यक रहेको बताए ।











