Logo
Logo

युवा पलायनको भीडमा उद्यम रोज्ने साहसी निलिमा


819
Shares

–निलिमा चौलागाई, सञ्चालक, गर्भ नेपाल
भक्तपुर विरुवाकी २३ वर्षीय निलिमा चौलागाईले स्नातक पढदै गर्दा चार वर्षअघि परिवारले खाजा खान दिएको पैसा बचाएर सिलाइबुनाइको तालिम लिइन् । सीप सिकेपछि उनले सुत्केरी महिला, गर्भवती महिला र नवजात शिशुुको लागि मलमल कटन ढाकालगायतका कपडा बनाउने काम सुरू गरिन् । दुई वर्षको अवधिमै ‘गर्भ नेपाल’ ब्राण्डले धेरै आमाहरूको मन जितिरहेको छ । मास्टर्स गर्दै गरेकी निलिमा सफल महिला उद्यमी बन्दैछिन् । उनी निलिमा चौलागाईसँग रेजिना पाण्डेको जम्काभेट ।

गर्भ नेपालको जन्म कसरी भयो ?
सन् २०२० मा म स्नातक बढ्दै गर्दा मेरो भाइ जन्मियो । ममीले भाइका लागि कपडा किनेर ल्याउन भन्नुभयो । कपडा किन्न जाँदा राम्रो क्वालिटीको भेटिएन । राम्रो क्वालिटीको कपडा सुपथ मुल्यमा पाउन सम्भव नभएपछि धेरै उदास भए । त्यही बेला मेरो मनमा आयो–गर्भवती, सुत्केरी र नवजात शिशुका लागि राम्रो क्यालिटीको कपडा आवश्यक रहेछ । यो काम मैले गर्न सक्छु कि भन्ने सोच दिमागमा आयो । त्यसपछि मैले तालिम लिएर ‘गर्भ नेपाल’ नाम राखेर उत्पादन र बिक्री गरिरहेकी छु । अहिले गर्भ नेपाल ब्राण्ड बनेको छ ।

त्यतिधेरै ग्यापमा भाइ जन्मिदा अप्ठेरो लागेन ?
अहिले म २३ वर्षको भएँ, मेरो भाइ ६ वर्षको छ । हामी दुई दिदीबहिनीपछिको भाइ हो । कसले के भन्छ भन्दा पनि हामी कतिको खुसी छौँ भन्ने कुरा हो । त्यही भाइलाई कपडा खोज्ने क्रममा त्यो घटनाले मलाई महिला उद्यमी बनायो । सायद, भाइ नजन्मेको भए यसरी उद्यमी बन्ने थिइनँ होला । र, क्वालिटीको कपडा सुुलभ मूल्यमा पाएर अहिले धेरै खुसी छन् ।

उद्यम सुरू गर्नुअघि कति महिनाको तालिम लिनु भयो ?
मैले तीन महिनाको तालिम लिएर गर्भ नेपाल सुरू गरेकी हुँ । अहिले म आफै कपडाको डिजाइन गर्छु, कटिङ गर्छु । चारजना स्टाफ हुनुहुन्छ । केहीलाई काम पनि सिकाइरहेकी छु ।

गर्भ नेपाल ब्राण्ड बन्दा कस्तो महसुस भयो ?
म एकदमै खुसी छु । ग्राहकले हाम्रो कपडा दोहो¥याइ, तेहे¥याई अर्डर गर्नुहुन्छ । एकदम राम्रो छ, सस्तो पनि छ भन्नुहुन्छ । त्यसले हामीलाई काम गर्न हौसला मिलेको छ ।

मार्केट कहाँ कहाँ छ ?
नेपालभित्रबाट मात्रै होइन, विदेशबाट पनि अर्डर आइरहेका छन् । अमेरिका, अष्ट्रेलिया, जापान, बेलायतलगायतका देशहरूबाट पनि अर्डर आइरहेको हुन्छ । दैनिकजस्तो २०÷२५ वटा डेलिभरी गर्नुपर्ने हुन्छ । कामको चापले भ्याइनभ्याइ नै छ ।

कति लगानीमा काम सुरू गर्नुभयो ?
सुरूमा घरैबाट ४ हजारमा काम थालेको हुँ । अहिले महिनामा ५०÷६० हजारको काम हुन्छ । दुई वर्षदेखि म अनलाइनमार्फत नै काम गर्दै आएको छु । अहिले पनि अनलाइन अर्डर नै लिन्छु । म आइटीको विद्यार्थी भएकोले पनि अनलाइन काम गर्न सजिलो भएको छ । कपडा बनाउने काम पनि घरमै हुन्छ । अब चाहिँ एउटा पसल पनि खोल्ने योजना बनाएकी छु ।

सुरूमा यो काम थाल्दा परिवारबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
म आईटी पढिरहेको थिएँ । घरबाट ‘कामभन्दा पढाइमा ध्यान देउ, यस्तो काममा हात हालेर समय खेर नफाल’ भन्नुभएको थियो । पछि गाह्रो पर्छ नि भन्ने कुरा पनि आएको थियो । मैले काम अघि बढाउदै जाँदा घरपरिवारको राम्रो साथ पाएँ । अहिले पनि काम गर्न उत्साहित बनाइरहनुभएको छ ।

तपाईं प्रायः कस्तो कपडा डिजाइन गर्नुहुन्छ ?
मैलै नेपालीपन झल्कने ढाका, मलमल, कटनको कपडाको डिजाइन गर्छु । नवजात शिशुदेखि गर्भवती र सुत्केरीका कपडा सिलाउँछु । दौरा सेट, खास्टो ग्राउन, म्याक्सीका साथै डस्ना, सिरक पनि बनाउँछु ।

सानै उमेरमा सफलता पाउदा कस्तो लाग्छ ?
धेरै खुसी लाग्छ, तर पाउनुपर्नेजति सफलता पाइसकेकी छैन । अझ धेरै काम गर्न बाँकी नै छ । म कामलाई निरन्तरता दिदै अझै राम्रो काम गर्ने योजना बनाउँदैछु ।

यो काममा प्रतिष्पर्धा कस्तो छ ?
प्रतिष्पर्धा त हरेक क्षेत्रमा हुन्छ नै । एउटा काम चलेको देखेपछि अरू पनि त्यसमा लाग्छन । कुनै पनि व्यवसायको कपी गर्ने चलन छ । त्यसैले प्रतिष्पर्धा नै छ ।

धैरै युुवाहरू विदेश पलायन भइरहेको बेला तपाईं नेपालमै बसेर व्यवसाय गरिरहनु भएको छ ? कति सहज छ ?
सहजभन्दा पनि रहरले मैलै यो काम थालेकी हुँ । संघर्ष गरेर नै आज गर्भ नेपाल ब्राण्ड बनेको छ । यसलाई बिस्तारै बिस्तार गर्ने योजना छ । विदेश जाने मेरो सोच छैन ।

भविष्यको योजना के छ ?
मेरो काम र गर्भ नेपाललाई विश्वभर चिनाउने योजना छ । शाखाहरू खेल्ने र बढीभन्दा बढी आफ्नो ब्राण्ड फैलाउने योजना छ । एउटा सफल महिला उद्यमी बन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्