Logo
Logo

कांग्रेस-एमालेलाई रास्वपाको चुनौती, काे बन्ला पहिलो दल ?

‘पुरानाको साख कि नयाँको लहर ?'


567
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना मात्र बाँकी रहँदा देशको राजनीतिक तापक्रम एकाएक बढेको छ । राजनीतिक दलहरू गाउँ–गाउँमा भोट माग्न व्यस्त छन् । यो निर्वाचन विशेष परिस्थितिमा हुन लागेकाले मतदाता, विश्लेषक र दलहरू सबैमा एकै कौतूहल देखिन्छ, निर्वाचन कसले जित्ला ? पहिलो, दोस्रो एवं तेस्रो दल कुन बन्ला ?

निर्वाचनको परिणामबारे विभिन्न अनुमानहरू गरिन्छ । तर, जनताको वास्तविक मनोविज्ञानलाई गहिरो रूपमा बुझेर गरिएको प्रत्यक्ष सर्वेक्षणको अभावमा अहिले नै कसको पक्षमा जितको पल्ला भारी छ भनेर किटान गर्न सकिने अवस्था छैन ।

नेपालको संसदीय निर्वाचनको इतिहासलाई हेर्दा २०४८ सालयताका अधिकांश निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै पहिलो दल बन्ने मुख्य प्रतिस्पर्धा रहँदै आएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा मात्र माओवादी केन्द्रले अप्रत्याशित रूपमा पहिलो स्थान हासिल गरेको थियो । तर त्यसअघि र पछि फेरि कांग्रेस र एमालेकै वर्चस्व कायम रह्यो ।

२०७९ सालको निर्वाचनमा पनि यही परम्परा दोहोरियो, जहाँ प्रत्यक्षतर्फ कांग्रेस पहिलो भयो भने समानुपातिकतर्फ एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता लियो । रोचक पक्ष त के छ भने पछिल्ला धेरै निर्वाचनमा समानुपातिक मतमा एमाले कांग्रेसभन्दा अगाडि रहँदै आएको छ । तर, यसपटकको निर्वाचनमा यो परिदृश्य बदलिने दाबी गर्दै २०७९ मा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई पहिलो दलका रूपमा उभ्याउने उद्घोष गरिरहेको छ ।

कांग्रेस र एमालेले रास्वपाको दाबीलाई ‘अतिरञ्जित’ भन्दै आफ्ना परम्परागत संगठन र बलियो जनआधारका कारण आफैँ पहिलो हुने तर्क गरिरहेका छन् । उता, प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले पनि धेरै स्थानमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी गरिरहेको छ । तर, विश्लेषकहरू भने नेकपाको कमजोर संगठन र विगतको खस्कँदो जनमतका कारण त्यो लक्ष्य प्राप्त गर्न निकै कठिन हुने बताउँछन् ।

समानुपातिक मतलाई जनभावनाको वास्तविक सूचक मानिन्छ, जहाँ संगठन, अनुशासन र स्थायी मतदाताको भूमिका निर्णायक हुन्छ । यही कारणले एमाले विगतमा निरन्तर अगाडि देखिएको हो । तर, यसपटक ‘जेन–जी’ (नयाँ पुस्ता) को आन्दोलन र पुराना दलहरूप्रति लागेको ‘सफल’ को ट्यागले एमाले र कांग्रेस दुवैको समानुपातिक मतमा केही गिरावट आउन सक्ने आकलन गरिएको छ ।

अहिलेको राजनीतिक विमर्शमा नयाँ र पुराना दलबीचको द्वन्द्व स्पष्ट देखिन्छ । पुराना दलहरूले देशलाई निकास दिन नसकेको र अब नयाँलाई अवसर दिनुपर्ने मान्यता समाजमा बलियो हुँदै गएको छ, जसको सीधा असर कांग्रेस र एमालेलाई पर्ने देखिन्छ ।
नयाँ शक्तिका रूपमा उदाएको रास्वपाप्रति युवा पुस्ताको आकर्षण बढेको छ । त्यसमाथि बालेन शाह जस्ता व्यक्तित्वहरू यो पार्टीमा जोडिनुले यसपटक रास्वपाका पक्षमा केही ‘लहर’ सिर्जना गरेको छ ।

यही लहरका कारण रास्वपाले आफू पहिलो दल बन्ने ऐतिहासिक मौका आएको दाबी गरिरहेको छ । राजनीतिक विश्लेषक श्याम मैनालीका अनुसार परिस्थिति जस्तो भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपाबीच नै हुनेछ । पुराना पार्टीहरू केही बदनाम भए पनि उनीहरूको दशकौँ लामो सांगठनिक आधारलाई कम आँक्न नमिल्ने उनको तर्क छ ।

रास्वपाको देशव्यापी लहर देखिए पनि निर्वाचन जित्नका लागि केवल लहर मात्र पर्याप्त हुँदैन; संगठन, योग्य उम्मेदवार र मतदानको दिनको अनुशासनले ठूलो अर्थ राख्छ । यसपटकको निर्वाचनमा ‘जेन–जी’ मतदाता निर्णायक बन्न सक्छन्, तर उनीहरूको मतदानमा सहभागिता कति रहन्छ भन्ने कुराले नै रास्वपाको भविष्य तय गर्नेछ ।

२०७९ को तथ्याङ्कलाई हेर्दा कांग्रेसले प्रत्यक्षमा ५७ सिट जिते पनि समानुपातिकमा २७ लाख १५ हजार २२५ मत पाएको थियो भने एमालेले प्रत्यक्षमा ४४ सिट जितेर पनि समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत ल्याउँदै आफूलाई लोकप्रिय मतमा पहिलो साबित गरेको थियो ।

त्यस्तै तत्कालीन माओवादी केन्द्रले प्रत्यक्ष्मा १८ सिट जित्दै समानुपापतिकमा ११ लाख ७५ हजार ६८४ मत पाएको थियो भने रास्वपाले ११ लाख ३० हजार ३४४ समानुपातिक मत पाएर आफ्नो उपस्थितिलाई मजबुत बनाएको थियो । यसपटक परम्परागत दलहरूप्रतिको वितृष्णा र नयाँ शक्तिप्रतिको आशले यी तथ्याङ्कहरूमा ठूलो फेरबदल ल्याउन सक्छ ।

यदि तटस्थ र असन्तुष्ट मतदाताले ठूलो संख्यामा नयाँ शक्तिलाई रोजे भने नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलनको उदय हुने निश्चित छ । यद्यपी, संगठनको बल र नयाँ लहरको द्वन्द्वमा कुन पक्ष हाबी हुन्छ भन्ने कुरा २१ फागुनपछिको परिणामले नै स्पष्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्