काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण आजबाट सुरु गरेको छ । आधारभूत सेवाका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका विभिन्न उपचारका साधन दिएको महानगरले बताएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सेवामा खटिने कर्मचारीले पदीय जिम्मेवारी मात्र नभएर मानवीय सेवाको काम पनि गर्ने बताइन् । उनले कर्मचारीहरुलाई कोही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन्, पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने गरी काम गर्ने निर्देशन दिइन् । उनले भनिन्, ‘आपत् टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ, यसलाई स्वाभाविक ठान्नु । उहाँहरूलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नुहोला ।’
महानगरले सम्पत्ति भए पनि सहयोग गर्ने परिवारका सदस्य नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालेको हो । शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्नेलाई घरमै स्वास्थ्यकर्मी पठाउने तयारीमा महानगरेको रहेको जनाइएको छ ।











