Logo
Logo

महेश बस्नेतलाई हराउन भक्तपुर- २ मा तीन पत्रकार चुनावी मैदानमा


1.1k
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि भक्तपुर- २ मा राजनीतिक सरगर्मी बढेको छ। यस क्षेत्रमा कूल ३२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्, जसमा १७ वटा राजनीतिक दलका प्रतिनिधि र १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

यसपटकको निर्वाचनमा सबैभन्दा रोचक पक्ष भनेको चार जना पत्रकारहरूको उम्मेदवारी हो । सामान्यतया समाजका बेथिति उजागर गर्ने र शक्तिमा रहेकाहरूलाई प्रश्न सोध्ने भूमिकामा रहने पत्रकारहरू यसपटक आफैँ ‘भोट’ माग्न व्यस्त छन् । लोकतन्त्रको ‘चौथो अङ्ग’ मानिने पत्रकारिता र प्रत्यक्ष राजनीतिबीचको यो सम्बन्धले भक्तपुर–२ को प्रतिस्पर्धालाई थप अर्थपूर्ण बनाएको छ ।

चुनावी मैदानमा उत्रिएका पत्रकारहरू
मैदानमा रहेका चारै जना पत्रकार फरक–फरक राजनीतिक धार र रणनीतिसहित मतदातामाझ पुगिरहेका छन् । उनीहरूले पत्रकारितामा आर्जन गरेको पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सरोकारको अनुभवलाई राजनीतिमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कविर राणाः ३७ वर्ष सक्रिय पत्रकारिता गरेका राणाले यसपटक नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन् । २०४६ सालदेखि निरन्तर प्रश्न बोकेर हिँडेका उनी अब आफैँ जवाफ दिने, नीति निर्माण गर्ने ठाउँमा पुग्न चाहन्छन्।

जन्मदेव जैसीः २२ वर्षदेखि पत्रकारितामा सक्रिय जैसी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । श्रमजीवी पत्रकारका मुद्दामा सधैँ अग्रमोर्चामा रहेर विद्रोह गरेका उनी अब संसद्को यात्रा तय गर्न खोज्दै छन् ।

राजीव खत्रीः २० वर्षको पत्रकारिता यात्रा छाडेर खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा होमिएका छन् । भूमिका बदल्दै उनले नयाँ राजनीतिक शक्तिबाट आफ्नो भाग्य परीक्षा गर्दै छन् ।

यी सबै उम्मेदवारहरूले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका दुर्लभ थापा २४ हजार २३९ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला कांग्रेसलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो।

अघिल्लो निर्वाचनमा दोस्रो बनेका एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका थिए । त्यस्तै, नेमकिपाकी अनुराधा थापामगरले ७ हजार १२७ र रास्वपाका साजन विकले ४ हजार ९८ मत पाएका थिए ।

यसपटक पनि कांग्रेस आफ्नो साख जोगाउने कसरतमा छ भने एमाले अघिल्लो हारको बदला लिने दाउमा देखिन्छ । अर्कोतिर, रास्वपा पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ शक्तिका रूपमा उदाउन चाहन्छ।

अन्य प्रमुख उम्मेदवारहरू
मैदानमा नेमकिपाका रमेश वैद्य, नेकपाका रामप्रसाद सापकोटा र राप्रपाका विक्रम थापा पनि छन् । यस्तै, श्रम संस्कृति पार्टीका अर्जुन बासु, नेपाल जनसेवा पार्टीकी जानुका पाठक, उज्यालो नेपाल पार्टीका जितराम लामा, आम जनता पार्टीकी देवकुमारी शाह र जसपाका नवीन श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन्।

६ हजार नयाँ मतदाताको निर्णायक भूमिका
भक्तपुर– २ मा यसपटक ६ हजार ४४५ नयाँ मतदाता थपिएका छन् । योसँगै कुल मतदाताको सङ्ख्या ९८ हजार ३५६ पुगेको छ।

२०७९ सालमा यहाँ ९१ हजार ९११ मतदाता थिए । निर्वाचनका लागि ३९ मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन् । यी नयाँ मतदाताहरूको मत नै यस निर्वाचनको निर्णायक पक्ष हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्