Logo
Logo

पुनः सञ्चालनमा आयो कोटेश्वरको भाटभटेनी सुपरमार्केट


252
Shares

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ ।

जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो ।

पुनः सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना गरे । उनले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दुःखद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताए ।

प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताए। उनले जेन–जी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गरे ।

नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।
उनले भने, ‘हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस । राम्रो हुनैपर्छ । नेपालमा जुन दुर्घटना भयो । त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु पर्यो । त्यो भागेपनि भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठयो । अब क्रमशः सबै चाँडै उठ्नेछ । भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ । नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ ।’

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो । ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्