काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दावी गरेका छन् । शनिवार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।
नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी काँग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गरे।
उनले पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि देशको रुपान्तरणका लागि काँग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए। महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली काँग्रेसलाई देश रुपान्तरणका लागि बल प्रदान गर्नुपर्ने बताए।
उनले भने, ‘म काँग्रेसका तमाम साथीहरुलाई आग्रह गर्न चाहन्छुृ–तपाईले भनेजस्तो काँग्रेस बनेको छ । तपाईले काँग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । काँग्रेसमा त्यो रुपान्तरण भएस्को छ । अब रुपान्तरित काँग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस । मत दिएर तागत प्रदा गर्नुस् । हामीले आम मतदातालाई त्यो भन्न जरुरी छ ।’
महामन्त्री पौडेलले नेपाली काँग्रेसमा परिपक्व तर युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर समेत गरे ।











