Logo
Logo

जापानमा ताकाइची नेतृत्वको गठबन्धनलाई दुई तिहाइ जनादेश


189
Shares

काठमाडौं । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको गठबन्धनले शानदार बहुमत हासिल गरेको छ ।

आइतबार भएको निर्वाचनमा तकाइचीको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ४६५ सदस्यीय जापानको तल्लो सदनमा ३१६ सिट जितेको छ । त्यस्तै एलडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ  । जापानमा ४६५ मध्ये २८९ प्रत्यक्ष र १७६ सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । 

ताकाइचीले जनादेश लिने गरेको निर्णयमा मतदाताले साथ दिँदै उनले ओरालो लागेको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० लाई भारी बहुमत दिएर पुनर्जीवित गरेकी छन् ।

दोस्रो विश्वयुद्धपछिको इतिहासमा पहिलो पटक कुनै एक दलले दुई–तिहाइ बहुमत हासिल गरेको यो ऐतिहासिक नतिजा हो । सत्तारूढ गठबन्धनले कुल मिलाएर ३५२  सिट जितेको छ।

प्रधानमन्त्री ताकाइचीले कठ्यांग्रिने चिसो र हिउँले ढाकिएका बाटो पार गर्दै मतदान गर्न पुगेका मतदाताप्रति आभार व्यक्त गर्दै भनिन्- ‘चिसो मौसम र हिउँले भरिएका सडक पार गरेर मतदान गर्न आउनु भएका सबै मतदाताप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले जिम्मेवार र सक्रिय वित्तीय नीतिको वकालत गर्दै आएको उल्लेख गर्दै मतदाताबाट स्पष्ट जनादेश चाहेको बताइन् । उनले भनिन्- ‘आर्थिक र वित्तीय नीतिमा ठुला परिवर्तन ल्याउने जिम्मेवार तथा सक्रिय नीति अघि बढाउन मैले जनताको जनादेश चाहेको थिएँ ।’

यस निर्वाचन परिणामले प्रधानमन्त्री ताकाइचीको राजनीतिक पकड थप बलियो बनाएको विश्लेषकहरूले बताएका छन्, भने आगामी दिनमा जापानको आर्थिक र वित्तीय नीतिमा महत्त्वपूर्ण परिवर्तन देखिन सक्ने संकेत पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्