Logo
Logo

ट्रम्प र नेतान्याहूबीच इरानको परमाणु सम्झौतादेखि गाजा युद्धसम्म छलफल


252
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ह्वाइट हाउसमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले आफ्नो इरानसँगको परमाणु सम्झौताबारे वार्ता जारी राख्नुपर्ने कुरा आफूले स्पष्ट रूपमा राखेको बताएका छन् ।

ट्रम्पले बैठक राम्रो भए पनि कुनै अन्तिम निर्णय भने भएको नभएको बताए । उनले भने,’यदि इरानसँग राम्रो सम्झौता सम्भव छ भने त्यो उत्तम हुनेछ, नत्र आगामी कदमबारे विचार गरिनेछ ।’ ट्रम्पले यसअघि इरानले सम्झौता अस्वीकार गरेपछि अमेरिका सैन्य कारबाहीमा उत्रिएको स्मरण गराउँदै ‘अपरेशन मिडनाइट ह्यामर’को उल्लेख समेत गरेका छन् ।

भेटवार्तामा गाजाको अवस्था र मध्यपूर्वमा शान्ति प्रयासबारे पनि छलफल भएको जनाइएको छ । नेतन्याहूले ट्रम्पसँग भेट्नुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग समेत भेट गरेका थिए । यसैबीच, नेतन्याहूले विगतमा गाजा युद्धका क्रममा अमेरिका तर्फबाट हतियार र गोला–बारुद आपूर्ति रोकिँदा इजरायली सैनिकको ज्यान गएको आरोप लगाएका थिए । उनले प्रत्यक्ष रूपमा पूर्व राष्ट्रपति जो बाइडेनको नाम नलिए पनि हतियार आपूर्ति ट्रम्प राष्ट्रपति बनेपछि मात्र पुनः सुरु भएको दाबी गरेका छन् ।

नेतन्याहूले अलग फिलिस्तिनी राष्ट्र गठनको सम्भावना अस्वीकार गर्दै गाजा र कब्जामा रहेको वेस्ट बैङ्कमा इजरायलले नियन्त्रण कायम राख्ने बताएका छन् । उनले ‘टु–स्टेट सोलुसन’ लागू हुन नदिएको दोहोर्‍याउँदै जोर्डन नदीदेखि समुद्रसम्म इजरायलको नियन्त्रण रहने दाबी गरे ।

इरानबारे ट्रम्पको पछिल्लो अभिव्यक्तिको उल्लेख गर्दै नेतन्याहूले इरानले आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएका छन् । अमेरिका हाल क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै एयरक्राफ्ट क्यारियर स्ट्राइक समूह तैनाथ गरिसकेको छ ।

अमेरिका इजरायलको सबैभन्दा ठूलो सैन्य सहयोगी हो । सन् २०१६ मा भएको १० वर्षे समझदारीअनुसार अमेरिकाले सन् २०१९ देखि २०२८ सम्म कुल ३८ अर्ब डलर सैन्य सहायता दिने प्रतिबद्धता जनाएको छ, जसअनुसार हरेक वर्ष करिब ३।८ अर्ब डलर उपलब्ध गराइन्छ । यसमा ३।३ अर्ब डलर सामान्य हतियार खरिदका लागि र ५० करोड डलर मिसाइल प्रतिरक्षा प्रणालीका लागि छुट्याइन्छ । गाजा युद्ध सुरु भएयता थप अर्बौँ डलरको विशेष सहायता समेत दिइएको छ ।

ग्लोबल फायर पावर र्‍याङ्किङअनुसार सन् २०२६ सम्म इजरायल विश्वका १४५ देशमध्ये १५औँ स्थानमा छ भने अमेरिका पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्