एजेन्सी । चीनमा चन्द्र नयाँ वर्षको उल्लासका बीच हुबेई प्रान्तको जिनपु गाउँमा भएको पटाका विस्फोटमा १२ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पाँच जना बालबालिका पनि रहेका छन्, जसको पुष्टि चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले गरेको छ।
विस्फोट आतसबाजी र पटाका बिक्री गर्ने एक पसलमा हिजो दिउँसो भएको थियो। ज्यान गुमाउनेमा पसलका व्यापारीसहित ११ जना ग्राहक थिए । चन्द्र नयाँ वर्षका अवसरमा चीनका ग्रामीण क्षेत्रमा आतसबाजी र पटाका पड्काउने परम्परा व्यापक छ। यद्यपि, सुरक्षा र प्रदूषणका कारण पछिल्ला वर्षहरूमा धेरै प्रमुख शहरहरूले यसमा प्रतिबन्ध लगाइसकेका छन्।
गत आइतवार पूर्वी चीनको जियाङ्सु प्रान्तमा पनि यस्तै विस्फोटमा आठ जनाको मृत्यु भएको थियो । प्रहरीले अहिले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ।











