Logo
Logo

हिटलरको घर अब प्रहरी चौकी


1k
Shares

अस्ट्रिया । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ । सरकार उक्त भवनलाई अति दक्षिणपन्थीको आकर्षणको केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन अग्रसर भएको हो ।

सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर सहरको केन्द्रमा साँघुरो पसलहरूले घेरिएको सडकमा अवस्थित छ । भवनअगाडि राखिएको स्मारकमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गरौँ, फाँसीवादी शासन फेरि कहिल्यै दोहोरिन नदिऔँ, लाखौँ मानिसको मृत्यु यसनिम्ति चेतावनी हो’ लेखिएको छ ।

यसै साता एएफपीले अवलोकन गर्दा जीर्णोद्धारको अन्तिम काम भइरहेको देखिएको थियो । गृह मन्त्रालयका अनुसार, सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारीमा छ ।

सरकारले सन् २०१६ मा निजी मालिकबाट भवनको नियन्त्रण लिन विशेष कानुन पारित गर्दै यसलाई ‘बेअसर’ बनाउने नीति अघि सारेको थियो । अस्ट्रिया सन् १९३८ मा नाजी जर्मनीद्वारा कब्जा गरिएको थियो । र, नरसंहारमा आफ्नो भूमिकाबारे विगतमा पर्याप्त आत्मस्वीकृति नगरेको आरोप खेप्दै आएको छ । नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए । एक लाख ३० हजार निर्वासनमा पठाइएका थिए ।

स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले यो निर्णयलाई ‘दुई धारको तरबार’ भएको प्रतिक्रिया दिए । उनका अनुसार, यसले अति दक्षिणपन्थी समूहलाई भेला हुन निरुत्साहन गर्न सक्छ । तर, भवनलाई फरक ढंगले उपयोग गर्न सकिन्थ्यो ।

नरसंहारपीडितको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लेखक लुडविग लहरले प्रहरी चौकी बनाउने निर्णयलाई ‘समस्यापूर्ण’ बताए । उनका अनुसार, प्रहरी राज्यको संरचनाअनुसार चल्ने भएकाले स्मृति र शान्ति संवादका निम्ति छुट्टै केन्द्र उपयुक्त हुने थियो ।

भवनलाई यसअघि शान्ति निर्माण र ऐतिहासिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने स्थल बनाउने प्रस्तावले व्यापक समर्थन पाएको थियो । स्थानीय पसल व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मलाई ‘ऐतिहासिक सन्दर्भमा राखेर प्रस्तुत गर्नु रोचक हुने’ धारणा व्यक्त गरे । पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भएको छ ।

तर, सबै प्रतिक्रिया नकारात्मक छैनन् । इलेक्ट्रिकल इन्जिनियर वोल्फगाङ लेथनरले भवनलाई प्रहरी चौकीमा रूपान्तरण गर्दा ‘केही शान्ति आउने’ विश्वास व्यक्त गरे । उनका अनुसार, यसरी प्रयोग गर्दा भवन अति दक्षिणपन्थीको तीर्थस्थल बन्ने सम्भावना कम हुनेछ ।

ब्राउनाउका कन्जरभेटिभ मेयरको कार्यालयले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

अस्ट्रियामा नाजी अतीत र नरसंहार इतिहासलाई कसरी स्मरण र सम्बोधन गर्ने भन्ने बहस फेरि सतहमा आएको छ । अति दक्षिणपन्थी फ्रिडम पार्टी सन् २०२४ को चुनावमा सबैभन्दा ठूलो दल बने पनि सरकार गठन गर्न असफल भएको थियो । गत वर्ष ब्राउनाउ एम इनमा नाजी स्मृतिसँग जोडिएका दुई सडकको नाम परिवर्तन गरिएको थियो ।

इतिहासको पीडादायी स्मृतिलाई कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नबीच हिटलर जन्मिएको घरको नयाँ पहिचानले अस्ट्रियामा भविष्यको दिशाबारे पुनः बहस जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्