Logo
Logo

देश दुई ठूला अतिवादी खतरासँग लड्दैछः प्रचण्ड


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुई ठूला अतिवादी खतरासँग जुधिरहेको र यससँग लड्ने क्षमता वामपन्थी आन्दोलनसँग रहेको बताएका छन् ।

भिडियो सन्देशमार्फत उनले भने, ‘हिजो क्रान्तिको गाथा लेख्योँ, अब समय आएको छ समृद्धिको अध्याय लेख्ने।’ प्रचण्डले आफूहरू सरकारमा हुँदा सुशासन सुरु गरेको, भ्रष्टाचारका ठूला काण्ड उजागर गरेको र विधिको शासन स्थापित गर्न पहल गरेको स्मरण गराए।

उनले वर्तमान देशको समस्या दुई प्रकारको अतिवादबाट उत्पन्न भएको बताए। पहिलो, जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता निम्त्याउने अतिवाद दोस्रो, दलाल र बिचौलियाको स्वार्थमा अडिने यथास्थितिवाद। यी दुवै खतरा रोक्न सक्ने शक्ति वाम आन्दोलन मात्र रहेको प्रचण्डको भनाइ थियो।

संयोजक दाहालले वाम आन्दोलनको पुनर्गठन गर्दै नेपाली कम्युनिस्ट पार्टीको रूपमा अघि बढिरहेको जानकारी दिए। उनले सबै कम्युनिस्ट र समाजवादी समूहलाई एकताबद्ध गरी नयाँ देशभक्त शक्ति निर्माण भएको बताए।

आफ्नो नेतृत्वमा भ्रष्टाचार अन्त्य, कानुनको शासन कायम, सरकारी सेवा पारदर्शी र जनमुखी बनाउने एजेन्डा रहेको उनले स्पष्ट पारे। प्रचण्डले महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम र अन्य उत्पीडित समुदायको अधिकारको संरक्षणका लागि मतदान गर्न अपिल गरे।

उनी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई स्थायित्व, सुशासन र समृद्धिका लागि आफ्नो दलको ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह गर्दै सन्तुलित विदेश नीति, रोजगारमुखी अर्थतन्त्र, कृषि–उद्योग समन्वय र नवप्रवर्तन प्रविधि प्रवर्द्धनलाई प्राथमिकता बनाइने बताए।

प्रतिक्रिया दिनुहोस्