काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गर्दै गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना विदेशी नागरिकले ज्यान गुमाएका हुन् ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले अनलाइनखबरसँगको कुराकानीमा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरे । यद्यपि मृतकहरूको पहिचान भने सम्बन्धित निकायले सार्वजनिक गरेको छैन ।
रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरेको छ । यूएईको हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोन आकाशमै निष्क्रिय पारे पनि ३५ वटा ड्रोन विभिन्न स्थानमा खसेका थिए ।
तीमध्ये २१ वटा ड्रोनले नागरिक बस्ती र भौतिक संरचनालाई लक्षित गर्दा मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ ।
आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानलगायत १५ देशका ५८ जना नागरिक घाइते भएका छन् । मन्त्रालयका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ र उपचार भइरहेको छ ।











