
काठमाडौं । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी प्रचारका लागि प्रयोग गरेको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले सोमबार बिहान बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा रास्वपाको झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको जानकारी दिए ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा दुई बोरा चामल, २१० बोत्तल मदिरा र दुई कार्टुन बियर, खाने तेल तीन कार्टुन फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए ।
प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिएको छ ।
चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएका छन् ।
प्रहरीले निर्वाचनलाई लक्षित गरी ती सामान बाँड्न सक्ने आशंकामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए । घटनाबारे रास्वपा सल्यानले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन ।











