काठमाडौं । इरानका सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनी देशको नयाँ सर्वोच्च नेतामा निर्वाचित भएका छन् । ८८ जना मौलवीहरूको सभाले उनलाई चयन गरेको हो । अमेरिका र इजरायलले गरेको आक्रमणमा बुवा अली खामेनी मारिएपछि यो नयाँ नियुक्ति भएको हो ।

सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेका थिए । इजरायलले मङ्गलवार कोम सहरस्थित विज्ञ सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया रोक्ने प्रयास गरे पनि त्यहाँ कोही उपस्थित नभएकाले मानवीय क्षति भने भएन । भवन भने पूर्ण रूपमा ध्वस्त भएको छ।
यसैबिच, दिवङ्गत नेता खामेनीको अन्त्येष्टि मशादस्थित इमाम रेजाको दरगाह नजिकै गरिने इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । अन्त्येष्टि पछि मात्र नयाँ नेताको निर्वाचनको औपचारिक घोषणा हुने बताइएको छ ।
इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार पछिल्लो चार दिनमा इरानका १५३ सहरका ५०४ स्थानमा एक हजार ३९ पटक आक्रमण भएका छन् । यी हमलामा परेर ७८७ जनाले ज्यान गुमाएका छन् । अमेरिकाले पनि ६ जना सैनिक मारिएको जानकारी दिएको छ। जारी युद्धमा अमेरिका र इजरायलले इरानमा हमला गरिरहेका छन् ।
जवाफमा इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र दूतावासलक्षित आक्रमण जारी राखेको छ । इरानले इजरायलमाथि पनि हमला गरिरहेको छ । तेहरानले गरेको आक्रमणमा दर्जनौँले ज्यान गुमाएका छन् भने सयौँको सङ्ख्यामा घाइते छन् । इरानले स्ट्रेट अफ होर्मुज पनि पूर्ण रूपमा बन्द गरेको जनाएको छ ।
अमेरिकी सेन्ट्रल फोर्सका कमान्डरले एक भिडियो सन्देश जारी गर्दै युद्ध सुरु भएदेखि १७ इरानी सैन्य जहाज र एउटा पनडुब्बी नष्ट गरेको दाबी गरेको छ । हाल अरब खाडी, स्ट्रेट अफ होर्मुज वा ओमान स्ट्रेटमा कुनै पनि इरानी जहाज बाँकी नरहेको उसले बताएको छ । इरानले पनि हालसम्म ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र २००० ड्रोन प्रहार गरिसकेको छ ।











