Logo
Logo

विवाह गर्नैपर्छ भन्ने लाग्दैन : इन्दिरा शाह, गायिका


- दृष्टि न्युज/संवाददाता


उपनाममात्रै होइन, व्यक्ति पनि युनिक छिन् ‘युनिक महारानी’ अर्थात गायिका इन्दिरा शाह । धेरैलाई सोध्छन्, ‘आफूलाई किन युनिक महामारी भन्नुहुन्छ ?’ उनी भन्छिन्, ‘अरुभन्दा युनिक छु, त्यसैले ।’ ‘महारानी’चाहिँ आफू ठकुरी भएकाले लेख्ने गरेको इन्दिराको भनाइ छ । शाह अर्थात ठकुरी खानदानमा अहिले पनि ‘महारानी’, ‘मैसाब’ भन्ने चलन छ । २०५९ सालदेखि गायनमा सक्रिय इन्दिरा उर्फ ‘युनिक महारानी’ स्वदेशमा भन्दा विदेशमा चर्चित छिन् । कतार, कुवेत, दुबईलगायत मुलुकमा इन्दिरा महारानी भनेपछि नामै काफी छ । हालसम्म १५ वटा गीति एल्बम ल्याइसकेकी इन्दिरा भन्छिन्, ‘नेपालमा त कलाकारको सम्मान नै छैन ।’ दोलखा मकैबारीकी इन्दिरा विशेषगरी लोकदोहोरी गाउन रुचाउँछिन् । उनका ‘लाईदेउ मोहनी’, ‘दिलकुमारी’ ‘झिलिमिली रमाइलो’लगायतका दर्जनौँ गीत चर्चित छन् । ठकुरी सहयोग सञ्जाल कतारको प्रथम उपाध्यक्षसमेत रहेकी ‘युनिक महामारी’ अर्थात गायिका इन्दिरा शाहसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँको नाम ‘युनिक महारानी’ कसले जुराएको हो ?

आफैँले राखेकी हुँ । म अरुभन्दा युनिक छु, त्यसैले आफूलाई युनिक टाइटल दिएकी हुँ । ‘महारानी’चाहिँ ठकुरी भएकाले भनेकी हुँ । ठकुरी खानदानमा ‘मैसाब’, ‘महामारी’ भन्ने चलन छ ।

सामाजिक सञ्जालमा यही नाम छ । मान्छेहरुले नामको बारेमा कतिको सोध्छन् ?

चिनजान र नजिकाहरुलाई थाहा छ, भन्नै पर्दैन । नचिनेहरुले सोध्ने गर्छन् । तर, म बताउँदिनँ, किनकि बताइरहन आवश्यक ठान्दिनँ ।

गाउन सुरु गर्नुभएको कति भयो ?

२०५९ सालदेखि गाउन थालेकी हुँ । त्यसभन्दाअघि नृत्य गर्थेँ । खेलकूदमा पनि रुचाउँथेँ । म कराँते र भलिवल खेल्थेँ । तर, काठमाडौं आएपछि लोकदोहारीबाट गायनमा लागेँ ।

लोक दोहोरी प्रतिस्पर्धामा उपाधि पाउनुभयो कि भएन ?

मैले थुप्रै प्रतिस्पर्धामा भिडेकी छु । २०६२ मा काठमाडौमा भएको टुबोर्ग दोहोरी प्रतियोगितामा तेस्रो र २०६३ सालमा दाङमा भएको प्रतिस्पर्धामा हाम्रो टिम दोस्रो भएको थियो । तर, प्रतिस्पर्धा निष्पक्ष नभएकाले प्रमाणपत्र च्यातिदिएर आएकी हुँ । राप्ती–काठमाडौं सम्पर्क मञ्चबाट हाम्रो टिमले प्रतिस्पर्धा गरेको थियो । तर, जिल्लाको पुरस्कार बाहिर जान नदिने भन्दै दाङकै सन्दिप न्यौपानेको टिमलाई प्रथम बनाइएको थियो ।

रियालिटी शो वा कम्पिटिशनहरु निष्पक्ष हुँदैनन् हो ?

मेरो नजरमा हुँदैनन् । मलाई त यो रिलियाटी शोमा प्रतिभा हुनेले जित्छ भन्ने विश्वास लाग्दैन । अपवादमा केही कम्पिटिशन निष्पक्ष हुनसक्छ । कतारमा आयोजना भएको ‘लोक तारा’मा म प्रथम भएकी थिएँ । त्यतिखेर प्रत्यक्ष भोटिङका कारण जितेकी हुँ ।

तपाइँ विदेशमै व्यस्त हुुनुहुन्छ होइन त ?

नेपालमा हुने कार्यक्रममा आफ्नोबाहेक अरुको कार्यक्रममा जाँदिनँ । भ्याली बाहिर हुने कार्यक्रमका लागि कति प्रस्ताव आउँछ । तर, जान्नँ । म बढी कतारमै हुन्छु । लकडाउन अगाडि पनि कतारमै थिएँ । त्यसपछि कुवेत पनि गइरहेकी हुन्छु ।

कतारमा सांगीतिक कार्यक्रममै व्यस्त कि अरु केही गर्नुहुन्छ ?

त्यहाँ हुने कार्यक्रमहरुमै व्यस्त हुन्छु । कतारमा म संलग्न भएको संस्था पनि छ । ठकुरी सहयोग सञ्जाल कतारको म प्रथम उपाध्यक्ष हुँ ।

तपाइँको अढाइ दशकभन्दा बढी संगीतमै वितिसकेछ । त्यो बेला र अहिलेको गीतसंगीतलाई कसरी तुलना गर्नुहुन्छ ?

पहिले यु–ट्युब थिएन । अहिले यु–ट्युबले गर्दा पैसा खर्च गरेर चर्चामा आउने चलन बढेको छ । आफूसँग कला र प्रतिभा भएर पनि पैसा छैन भने अहिले काम छैन । लगानी गर्न सक्नेको बजार छ अहिले ।

नाच्दा–नाच्दै गायन रोज्नुभयो । हिजोआज नाच्नुहुन्छ कि हुन्न ?

अलि मोटाएकी छु । त्यही पनि नाच्छु । नाच्नु, गाउनु र खेल्नु मेरो रुचिका विषय हुन् ।

नृत्यलाई निरन्तरता दिएको भए हिरोइन बन्नुहुन्थ्यो होला है ?

सम्भावना हुन्थ्यो । हुन त हिरोइन बन्न रुपरंग चाहिन्छ, म त्यस्ती राम्री छैन । तैपनि त्यो बेला मान्छेको नजरमा परेर मन जित्न सकेको भए सायद हिरोइन हुन्थेँ होला ।

अझैसम्म किन सिंगल हुनुहुन्छ । घरजम गर्ने सोच बनाउनुभएको छैन ?

सिंगल हुन मन नलागेर सिंगल बसेकी हुँ । घरजमका लागि प्रस्तावहरु आउँछन् । तर, म त्यसतर्फ ध्यानै दिन्नँ ।

एकदिन त विवाह गर्नेपर्छ नि होइन र ?

मलाई गर्नैपर्छ भन्ने लाग्दैन । र, गर्दिनँ पनि भन्न सक्दिनँ । यो सबै समय र परिस्थितिको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्