Logo
Logo

सत्ताको रापले पगालेको उत्तेजना


0
Shares

काठमाडौं । हिजो टेलिभिजनको पर्दामा होस् वा राजनीतिको मैदानमा रवि लामिछानेको पहिचान नै ‘गर्जन’ थियो । 

सञ्चारकर्मी हुँदा टेलिभिजनको स्क्रिनबाट नेताहरूको सातो खाने रवि, नेता बनेपछि मिडियाकै सातो खान तम्सिए । नेताहरूलाई ‘सिधा कुरा’ भन्दै कठघरामा उभ्याउने र आफूमाथि प्रश्न उठाउने मिडियालाई ‘१२ भाइ’को बिल्ला भिराउने उनको शैली सधैँ उत्तेजक रह्यो ।

चुनावअघिका मञ्चहरूमा उनी आगो ओकल्थे । आक्रामक, उत्तेजक र अरूलाई निषेध गर्ने अभिव्यक्ति हुन्थ्यो । निर्वाचनअघि ‘आफूलाई सुतेकै ठाउँमा अन्तिम इच्छा सोध्न आउनेहरू’ विरुद्ध विषवमन गर्थे । प्रश्न सोध्ने सञ्चारकर्मीमाथि ’प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ’ भन्दै जाइलाग्थे । 

तर, निर्वाचनमा झन्डै दुई–तिहाइको अभूतपूर्व जनमत पाएपछि लामिछानेको बोली र व्यवहारमा एउटा ’नाटकीय यू–टर्न’ देखिएको छ । सत्ताको बागडोर सम्हाल्ने निश्चित भएसँगै बुधवार ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा निकै शान्त, संयम र जिम्मेवार देखिए ।

लामिछानेको बोलीमा अहिले गम्भीरता र जिम्मेवारी झल्किएको छ । उनले १८० भन्दा बढी सांसदलाई दुई दिने अभिमुखीकरणमा प्रशिक्षण दिँदै अनुशासनको पाठ सिकाए । साथै कार्यकर्ता र समर्थकहरूलाई सामाजिक सञ्जालमा देखिने ‘डिजिटल आक्रामकता’ र विपक्षीमाथि गरिने तुच्छ टिप्पणी बन्द गर्न निर्देशन दिए । 

उनले भने– ‘हामीमाथि धेरै आरोप लागेको छ, रास्वपाका प्रायः अराजक छन् । रास्वपाका समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन् । सामाजिक सञ्जालमा गालीगलोजमा उत्रिन्छन् । व्यक्तिगत गाली गलोजमा उत्रन्छन् । छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन् । त्यस किसिमको एउटा छवि बनेको छ । म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु– अब त्यसबाट बाहिर निस्कनुपर्छ । अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो । होइन, जो कसैलाई अझै पनि ‘म अभियन्ता नै हुँ’ जस्तो लाग्छ, हिजोको जस्तै जिम्मेवार नभएर अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस हल । तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन ।’

उनले आफ्ना सांसदहरूलाई शासक नभई ‘जनता जस्तै सेवक’ बन्न आग्रह गर्दै, सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार लिन अपिल गरे । उनले भने–   ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ ।’

बहुमत प्राप्त दलको नेताका रूपमा लामिछानेले निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो नेतृत्वप्रति आश्वस्त पार्ने प्रयास गरेका छन् । उनले पुराना दलहरू (कांग्रेस, एमाले, माओवादी) को नाम नलिई उनीहरूको ऐतिहासिक योगदानको कदर गरे । 

उनले भने– ‘इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको मात्रै हात हुँदैन । इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ । उहाँहरूका कैयन् बेथितिहरूप्रति हाम्रो प्रश्न हो । तर इतिहासमा उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन ।’

लामिछानेले सांसदहरूलाई मन्त्री बन्ने दौडमा नलाग्न र स्वार्थ समूहहरूको प्रभावमा नपर्न सचेत गराए । उनले निजी जीवनको स्वतन्त्रता त्यागेर कठोर अनुशासनमा बस्न निर्देशन दिँदै ‘राइट टु रिकल’को व्यवस्थालाई कडाइका साथ लागू गर्ने चेतावनी समेत दिए । ‘हामीलाई जनताले ३५ वर्ष कुर्ने छैनन्, सायद ३५ दिन पनि कुर्दैनन्,’ भन्दै उनले डेलिभरीमा ढिलाइ गर्ने छुट नभएको स्पष्ट पारे । 

रविको शैली फेरिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनको प्रशंसा खुलेरै गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ । यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन् । पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ । त्यो कायम रहोस् ।’

सरकार गठनबारे मौन

प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न जिज्ञासा उब्जाएको छ । यद्यपि पार्टीले बालेन अस्वस्थ रहेको जानकारी दिएको छ, तर उनी सामाजिक सञ्जालमा सक्रिय देखिएकाले सभापति र प्रस्तावित प्रधानमन्त्रीबीचको सम्बन्धलाई लिएर शङ्का उब्जिएको छ ।

लामिछानेले आफ्नो ३५ मिनेट लामो सम्बोधनमा बालेनको नाम उच्चारण गरेनन्, न त सरकार गठनको निश्चित खाका नै प्रस्तुत गरे । 

पार्टीभित्र मन्त्रालय भागबण्डालाई लिएर अदृश्य शक्ति संघर्ष चलिरहेको संकेत लामिछानेको भाषणले गरेको छ । उनले ’शक्ति केन्द्र नधाउन’ दिएको निर्देशन यसैको उपज मानिएको छ ।

सहकारी प्रकरण जस्ता गम्भीर प्रश्नहरूमा मौन रहे पनि, रवि लामिछानेले आफूलाई एक सडक आन्दोलनकारीबाट जिम्मेवार राज्य सञ्चालकको भूमिकामा ढाल्न खोजेको प्रस्ट देखिन्छ । चैत १२ गतेपछि सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको सन्दर्भमा, रास्वपाले आफ्नो आन्तरिक एकता कायम राख्दै जनअपेक्षा पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा नै अबको मुख्य परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्