काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास आज बहस सकिएको हो । सोमबारदेखि यस रिटमा सुनुवाइ हुँदै आएको थियो । यसअघि तीन दिन ‘हेर्दाहेर्दै’मा रहँदै आएको रिटमा आज बहस सकिएसँगै आदेश आउन सक्ने सम्भावना रहेको छ ।
लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता सविता भण्डारी बरालले निर्णय गरेकी थिइन् । उनले आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन पेस गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुङ्गो नलागेसम्म कुनै निर्णय नगर्ने आदेश दिएका थिए ।
मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ ।











