काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक-अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरिन् ।

शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । भण्डारीले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको बताइन् ।
महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी महिलाहरू केवल पेशागत भुमिकामा मात्र सीमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताइन् । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानुन व्यवसायीको भूमिका निर्णायक हुने उनले उल्लेख गरिन् ।
उनले भनिनन्, ‘जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरूले मलाई प्रश्न गर्नुभयो । होइन, तपाईँको विरोध गर्ने त किन महिलाहरूले बढी देखिए ? मैले भनेँ सायद हामीले हाम्रा वकालत गर्नै जानेनौँ । हामी महिला त भयौँ तर महिलाको वकालत गर्न हामीले जानेनौँ । सायद त्यसले गर्दाखेरि पनि ती प्रश्नहरू हामीप्रति बारम्बार आइराखे । त्यसैले म यहाँहरू समक्ष एउटा अनुरोध पनि गर्न चाहन्छु आगामी दिनमा न्यायपालिकामा पनि हामीले एउटा महिला नेतृत्व पाउने आश गरेका छौँ । हाम्रा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनुहुन्छ भन्ने विश्वस्त पनि छौँ । तर यसरी माथिल्लो पदमा कुनै महिला पुग्दाखेरि हामीले उहाँहरूका वकालत गर्ने हामीले बानी बसाल्नुपर्छ । हामी महिला भएर महिलाको विरोध गर्न त जानेनौँ तर वकालत गर्न जानेनौँ । त्यसैले म यस सम्मेलनलाई एउटा अनुरोध पनि गर्छु कि वास्तवमा हामी महिला त भयौँ तर महिलाको वकालत गर्न सकेका छैनौँ। त्यो परिपाटी हामीले सुरुवात गरौँ ।’











