Logo
Logo

नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ


441
Shares

काठमाडौं । एक नयाँ अध्ययनले विश्वभर लाखौँ महिलाले प्रयोग गर्ने नक्कली कपाल (हेयर एक्स्टेन्सन) मा स्वास्थ्यका लागि हानिकारक रसायनहरू रहेको पत्ता लगाएको छ ।

साइलन्ट स्प्रिङ इन्स्टिट्यूटका वैज्ञानिकहरूले गरेको अनुसन्धान अमेरिकन केमिकल सोसाइटीको जर्नलमा प्रकाशित भएको छ । अध्ययनमा ४३ वटा नमुना (कृत्रिम, प्राकृतिक तथा मानव रौँबाट बनेका) परीक्षण गरिएको हो । 

परीक्षणमा कुल ९०० भन्दा बढी रसायन पाइएको हो । जसमध्ये १६९ पहिचान भए र ४८ वटा स्वास्थ्य जोखिम सूचीमा परेका हानिकारक छन् । यीमध्ये १२ वटा क्यान्सर, प्रजनन समस्या वा जन्म दोषसँग जोडिएका छन्  । 

विशेष गरी ३६ नमुनामा स्तन क्यान्सरसँग सम्बन्धित १७ रसायन फेला परेका हुन् । जसले हर्मोन (इन्डोक्राइन) प्रणालीलाई असर गर्छन् । फ्लेम रिटार्डेन्ट, फ्थालेट्स, अर्गानोटिन यौगिकहरू (जुन सामान्य उपभोग्य वस्तुमा कमै पाइन्छन्) र अन्य विषाक्त पदार्थहरू पनि अध्ययनमा भेटिएको हो । 

महँगा र मानव रौँका नमुनामा पनि कृत्रिम कपालभन्दा बढी हानिकारक रसायन पाइएको छ, जसले उत्पादन प्रक्रियामा प्रदूषण भएको देखाएको छ । अनुसन्धानकर्ता एलिसिया फ्र्याङ्क्लिनका अनुसार नक्कली कपाल हप्ता वा महिनौँसम्म टाउकोमा जोडिएर रहन्छ, छाला र सासबाट रसायन शरीरमा प्रवेश गर्छ । तताउँदा विषाक्त धुवाँ निस्कन्छ, जसले लगाउने र लगाइदिने दुवैलाई जोखिममा पार्न सक्छ । 

सानो मात्रामा पनि हर्मोन असन्तुलन हुँदा प्रजनन समस्या वा क्यान्सर निम्त्याउन सक्छ । यस्ता कपालका उद्योग विश्वभरी नै व्यापक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्