
काठमाडौं । इजरायलको अराद सहरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते हुनेको संख्या ८९ पुगेको छ । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
इजरायलको आपतकालीन सेवा म्यागेन डेविड एडोमका अनुसार आवासीय क्षेत्रमा क्षेप्यास्त्र खस्दा ठूलो क्षति भएको हो । आक्रमणपछि धेरै सर्वसाधारण घाइते भएका छन् भने उद्धार टोलीले सबैलाई अस्पताल पु¥याएको छ ।
प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको छ । यस घटनापछि इजरायलको डिमोना क्षेत्रसहित दक्षिणी भागमा सुरक्षा कडा बनाइएको छ । गृह मोर्चा कमाण्डले दक्षिण क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने ५० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन रोक लगाइएको छ ।
स्थानीय प्रसारण संस्थाका अनुसार नेगेभ, लाकिश र मृत सागर आसपासका क्षेत्रमा यी प्रतिबन्ध लागू गरिएको हो । क्षेप्यास्त्र आक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताइएको छ ।
ठूला कार्यक्रम सञ्चालन गर्दा पनि चेतावनी आएलगत्तै सुरक्षित स्थानमा पुग्न सकिने व्यवस्था अनिवार्य गरिएको छ । यसअघि नै शिक्षा मन्त्रालयले सोमबार देशभरका विद्यालय र कक्षा बन्द रहने घोषणा गरिसकेको छ ।











