Logo
Logo

सात दिनको मौसम पूर्वानुमानको तयारी


252
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मौसम पूर्वानुमान सेवालाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । हाल तीन दिनसम्म मात्र नियमित रूपमा जारी गर्दै आएको पूर्वानुमानलाई निकट भविष्यमा सात दिनसम्म विस्तार गर्ने योजना अघि बढाइएको छ । 

वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो कदम पूर्वानुमानलाई भरपर्दो, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले चालिएको हो । मौसमजन्य विपद्‌बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न गुणस्तरीय तथ्याङ्कमा आधारित लामो अवधिको पूर्वानुमान आवश्यक छ । 

नेपालमा हरेक वर्ष भारी वर्षा, हुरीबतास, असिना र डढेलो जस्ता प्रकोपले ठूलो क्षति पुर्‍याउँदै आएका छन् । विभागले भूउपग्रह, राडार, रेडियोसोन्ड र जमिनस्थ केन्द्रहरूबाट तथ्याङ्क संकलन गर्दै ‘न्युमेरिकल वेदर मोडलिङ’ प्रणालीमार्फत तीन दिनको पूर्वानुमान सार्वजनिक गर्दै आएको छ । यो जानकारी सडक, कृषि, खानी तथा भूगर्भ जस्ता निकायलाई पूर्वतयारीका लागि उपलब्ध गराइन्छ। पर्वतारोहण, हवाई उड्डयन, कृषि र सहरी क्षेत्रका लागि विशेष सेवा सञ्चालनमा छन् । हवाई मौसम सेवा डिजिटाइज भएको छ भने २१ स्थानीय तहमा प्रभावमा आधारित पूर्वानुमान सुरु गरिएको छ।सन् २०१० पछि प्रविधिमा उल्लेख्य सुधार आएको छ । 

विभागले सात दिने पूर्वानुमान प्रणाली, मोबाइल एप र ‘डिसिजन सपोर्ट सिस्टम’ विकास गर्ने तयारी गरिरहेको छ । यसबाहेक दैनिक, मासिक, मौसमी प्रतिवेदन, अतिवृष्टि–तापक्रम निगरानी, खडेरी अनुगमन र जलवायु परिवर्तन जानकारी नियमित उपलब्ध गराउँदै आएको छ ।

कृषिका लागि साप्ताहिक वर्षा, तापक्रम र आर्द्रताको विश्लेषण पनि सार्वजनिक हुन्छ।वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जलविज्ञान क्षेत्रमा प्रगति भए पनि प्रविधि, बजेट अभाव र कठिन भूगोल प्रमुख चुनौती रहेको बताए । देशभर २३० जलस्तर मापन केन्द्रमध्ये २०६ स्वचालित छन् ।

नारायणी बेसिनमा बाढी पूर्वानुमानको शुद्धता ९० प्रतिशत पुगेको छ। छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ प्रणाली जडान भइसकेको छ भने थप चार हिमतालमा विस्तारको योजना छ । सूचना प्रवाह बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस, रेडियो, टेलिभिजन र टोल फ्री नम्बर ११५५ मार्फत हुन्छ । जलवायु परिवर्तनले अनिश्चितता बढाए पनि आधुनिक उपकरण र डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्दै विभागले विपद् क्षति न्यूनीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्