काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा व्यक्त गरेको धारणा पार्टीको मूल्य, मान्यता र स्थापित राजनीतिक लाइनविपरीत रहेको निष्कर्ष निकालेको छ।

शुक्रबार बसेको एमाले सचिवालय बैठकले बादलको संसद् सम्बोधनबारे करिब ६ घण्टा लामो समीक्षा गर्दै उनका केही अभिव्यक्तिहरू पार्टीको आधिकारिक दृष्टिकोणसँग मेल नखाने ठहर गरेको हो।
बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै एमालेको नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीतन्त्र तथा अन्तर्राष्ट्रिय निकायहरूसँग पूर्ववत् रूपमा नै मित्रवत् र संस्थागत सम्बन्ध रहेको स्पष्ट पारेका छन्।
बैठकको निष्कर्षअनुसार बादलले संसद्मा प्रधानमन्त्रीलाई दिएको बधाईको शैली पनि अस्वाभाविक र व्यंग्यात्मक देखिएको थियो। त्यस्तै, जनताले दिएको मतादेशलाई समेत अपमान हुने गरी षड्यन्त्रको कोणबाट व्याख्या गर्नु उपयुक्त नभएको एमाले नेताहरूको धारणा थियो।
बादलले संसद्मा उठाएका ती विषयहरू एमालेले लोकतान्त्रिक प्रणालीभित्र अपनाउँदै आएको मूल राजनीतिक एजेन्डा र संस्थागत दृष्टिकोणको प्रतिकूल रहेको बैठकको ठहर छ।
शुक्रबारको सचिवालय बैठकमा अधिकांश नेताहरूले बादलको अभिव्यक्ति पार्टीको लाइनअनुसार नभएको भन्दै त्यसबारे औपचारिक स्पष्टता आवश्यक रहेको बताएका थिए।
बादलले नै गरे बैठकको अध्यक्षता
शुक्रबार बसेको सचिवालय बैठकको अध्यक्षता कार्यवाहक अध्यक्षका रूपमा बादलले नै गरेका थिए। बैठकका क्रममा अन्य नेताहरूले प्रश्न उठाएपछि उनले प्रतिनिधिसभामा बोल्दा आफू केही भावुक भएको स्वीकार गरेका थिए। साथै, आफ्ना अभिव्यक्तिको बचाउ गर्ने प्रयास पनि गरेका थिए।
प्रतिनिधिसभाको पहिलो बैठकमा बादलले करिब ६ मिनेट १७ सेकेन्ड बोलेका थिए। सो क्रममा उनले निर्वाचन परिणामप्रति नै आशंका प्रकट गरेका थिए।
संसद्मा के भनेका थिए ?
‘नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ गते आम निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत १३ गते भव्य धार्मिक अनुष्ठानमार्फत श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेका तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु।’
त्यसैगरी, अदृश्य विदेशी शक्तिहरूले पनि रास्वपालाई ‘जादुमय जित’ दिलाउन भूमिका खेलेको आशय व्यक्त गर्दै उनले प्रश्न गरेका थिएः
‘कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टीओबीहरू २३ र २४ गते तिलस्मी रूपमा प्रकट भए? कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो?’
बादलले प्रतिनिधिसभामा यस्तो धारणा राखेपछि एमालेभित्रै बिहीबारदेखि सार्वजनिक तथा अनौपचारिक आलोचना सुरु भएको थियो। त्यसपछि यही विषयमा समीक्षा गर्न शुक्रबार सचिवालय बैठक बोलाइएको हो।
बैठकले बादलले उठाएका विवादित विषयहरूबारे बुँदागत रूपमा स्पष्टता दिँदै सम्बन्धित संस्थाहरूसँग पार्टीको सम्बन्ध पूर्ववत् रहेको उल्लेख गरेको छ।
यससँगै एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई छुट्टै रूपमा औपचारिक बधाईसमेत दिएको छ।











