Logo
Logo

अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने


3k
Shares

काठमाडौं । सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरण सम्बन्धी स्वचालित प्रणाली हिजोदेखि कार्यान्वयनमा आएको छ ।

हिजो अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयले तयार पारेको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरेका हुन् । यस प्रणाली मार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले अब घरमै बसेर आफ्नो निवृत्ति भरण सम्बन्धी सेवा लिन सक्ने भएका छन् ।

सेवाग्राहीले निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइटमार्फत उपलब्ध सेवा प्रयोग गर्न सक्ने जनाइएको छ । यो प्रणालीअन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्ति भरण सम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् ।

सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा प्रणालीमै उपलब्ध भिडियो मार्गदर्शन हेर्न सकिने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यसअघि सेवा निवृत्त कर्मचारीहरूले प्रत्येक वर्ष आफूले निवृत्तिभरण लिइरहेको पुष्टि गर्न बैंकमा उपस्थित हुनैपर्ने बाध्यता थियो ।

त्यसैगरी, निवृत्तिभरण खाता खोल्न वा बैंक छनोट गर्न निवृत्तिभरण व्यवस्थापन कार्यालय धाउनुपर्ने अवस्था समेत हटेको छ । अब सेवाग्राहीले आफूलाई पायक पर्ने बैंक छानेर सेवा लिन सक्नेछन् । अर्थमन्त्री वाग्लेले प्रणाली शुभारम्भ गर्दै झण्डै साढे ३ लाख निवृत्तिभरण लिने सेवाग्राहीको झन्झट अन्त्य भएको बताए ।

अहिलेसम्म निवृत्तिभरण व्यवस्थापनमा झण्डै ३ लाख ५२ हजार ८१६ सेवाग्राही आबद्ध छन्, जसमा निष्क्रिय सेवाग्राहीसमेत समावेश छन् । प्रणाली कार्यान्वयनपछि वार्षिक रूपमा बैंकलाई तिर्नुपर्ने । झण्डै १५ करोड रुपैयाँ बराबरको कमिसन भार घट्ने, नगद प्रवाह अनुमानयोग्य हुने र सरकारी ढुकुटीमा पर्ने चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्