काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर रहेको छ, जुन पैत्रिक सम्पत्ति हो। उक्त जग्गा उनका बुवा सूर्यभक्त खनालको नाममा रहेको उल्लेख छ।

त्यसैगरी, खनालको तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपुरको देवचुली–२ मा १३ रोपनी तथा नेपालगञ्ज–२ मा ३ कट्ठा जग्गा रहेको छ। यी सबै पैत्रिक सम्पत्ति हुन् र बुवाकै नाममा दर्ता रहेका छन्।
सम्पत्ति विवरणअनुसार मन्त्री खनालसँग २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद मौज्दात रहेको छ। साथै, विभिन्न बैंक खातामा समेत रकम रहेको उल्लेख गरिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७ रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार ४०५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१ रुपैयाँ, एनआईसी एसिया बैंकमा ४ लाख ५१ हजार २९० रुपैयाँ, ग्लोबल आइएमई बैंकमा ४३ हजार ८०३ रुपैयाँ र नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रुपैयाँ मौज्दात रहेको छ।
त्यस्तै, उनको नाममा विभिन्न कम्पनीहरूमा सेयर लगानी रहेको छ। पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनल प्राइभेट लिमिटेडमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर रहेको छ। साथै, बीडब्ल्यूपी माइक्रोफाइनान्समा २,५६० कित्ता, ओम मेघाश्री फार्मास्युटिकल्समा ५,००० कित्ता, ग्लोबल आइएमई बैंकमा १०९ कित्ता र नबिल बैंकमा ५० कित्ता सेयर रहेको उल्लेख छ। यसबाहेक अन्य १६ विभिन्न कम्पनीहरूमा समेत सेयर लगानी रहेको जनाइएको छ।
मन्त्री खनालले विभिन्न समयमा २० लाख, ५५ लाख र २५ लाख रुपैयाँ बैंक तथा व्यक्तिगत स्रोतबाट ऋण लिएको र ती रकम भुक्तानी गर्न बाँकी रहेको पनि विवरणमा उल्लेख गरेका छन्।










