
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा एमालेले यसपटक अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय भएको बताएकी छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनको परिणामका कारणहरू खोज्ने क्रममा गरिने समीक्षासँगै पार्टीभित्रको एकता, अनुशासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउनु अत्यन्त आवश्यक रहेको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘नेकपा एमालेलगायत जनमतमा पछि परेका राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर एवम् वस्तुनिष्ठ समीक्षा गरी प्राप्त निष्कर्षहरूलाई आत्मसात गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू संयम, अनुशासन र दृढ आत्मविश्वासका साथ अघि बढ्नु आवश्यक छ ।’
उनले थप भनेकी छन्, ‘२०८२ भदौ २३ र २४ गतेको घटनाबाट उत्पन्न विशेष परिस्थितिमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा निकै ठूलो फेरबदल ल्याएको छ । लामो इतिहास बोकेका स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने देखिएको छ ।’
भण्डारीले यस पटकको निर्वाचन परिणामले मुलुकमा लोकतन्त्र स्थापनाका लागि दशकौँ लडेका पुराना दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट संकेत गरेको बताएकी छन् ।
जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै जनमुखी कार्यक्रम एवम् कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता भएकोमा उनको जाड छ । उनले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि उत्तिकै जरुरी भएको बताएकी छन् ।











