
काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणको तथ्यपरक छानबिन हुनुपर्ने बताएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणको तथ्यपरक छानबिन, कर चुक्ता र आयस्रोतको वैधानिकता खोजिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘मन्त्री हुनासाथ सम्पत्ति विवरण त आउँछ, तर त्यो सम्पत्ति कहाँबाट आयो ? त्यसको कर तिरिएको छ कि छैन ? आयस्रोत के हो ? यी प्रश्नको उत्तर नखोजी सुशासनको गफ गर्नु बेकार छ ।’
मन्त्रिपरिषद्का सदस्यहरू नै शंकाको घेरामा रहेसम्म जनतामा सुशासनको अनुभूति हुन नसक्ने उनको भनाई छ ।
उनले भने, ‘युवा पुस्ताले संसद् र नेतालाई हेर्ने दृष्टिकोण बदलिएको छ । युवा पुस्ताको विश्वास जित्न र सुशासन कायम गर्दै अगाडि बढ्न २०४६ साल यताका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरिनुपर्छ ।’











